मधेसमा तेस्रो पटक मन्त्रीमण्डल विस्तार
पुस १६, २०८२ | काठमाडौं
सत्तारुढ दलहरुबीच भागबन्डामा सहमति भएपछि मधेस प्रदेशमा तेस्रो पटक मन्त्रीमण्डल विस्तार भएको छ ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवले पछिल्लो पटक आज छ जना मन्त्री थप्दै मन्त्रीमण्डल विस्तार गर्नुभएको हो ।
सरकार गठन भएको झन्डै एक महिनापछि मुख्यमन्त्री यादवले १२ सदस्यीय मन्त्रिमण्डललाई पूर्णता दिनुभएको छ ।
नयाँ मन्त्रीमा मनिष सुमनले श्रम तथा यातायात, राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास, शंकरप्रसाद चौधरीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
त्यस्तै, श्यामप्रसाद पटेलले भूमि, व्यवस्था कृषि तथा सहकारी, वसन्त कुशवाहाले खेलकुद तथा समाज कल्याण र फकिरा महतोले गृह, सञ्चार तथा कानुन मन्त्रीको जिम्मेवारी पाउनुभएको प्रदेश सरकारले जनाएको छ ।
नवनियुक्त मन्त्रीहरुले आजै शपथ ग्रहण गरेका छन् ।
सत्ता राजनीतिमा फेरबदल भएपछि कंग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा लगायत दल मिलेर नयाँ गठन भएको थियो ।











