सुनसरी घटनाका बिषयमा छानविन समिति बनाउने सहमति
पुस १७, २०८२ | सुनसरी
सुनसरीमा सशस्त्र प्रहरीको गोली प्रहारबाट स्थानीय युवक विजय साहको मृत्युको घटना छानबिनका लागि समिति गठन गर्ने सहमति भएको छ ।
गोली प्रहारबाट स्थानीय युवक साहको मृत्यु भएपछि उत्पन्न तनाव साम्य पार्न जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा घटनाबारे सत्यतथ्य छानबिन गर्ने र पीडित परिवारलाई न्याय दिलाउने विषयमा पाँच बुँदे सहमति भएको हाम्रा सहकर्मीले जनाएका छन् ।
सहमति अनुसार सशस्त्र प्रहरीको गोली प्रहारबाट साहको मृत्यु भएको घटना छानबिन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिने भएको छ ।
छानबिन समितिमा नेपाल प्रहरीको कोशी प्रदेश कार्यालय र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत प्रतिनिधि रहनेछन् ।
समितिले सात दिनभित्र प्रतिवेदन पेश गर्नेछ ।
छानबिन प्रतिवेदन प्राप्त भएपछि सुरक्षा अधिकारीको लापरवाहीका कारण मृत्यु भएको ठहर भएमा प्रचलित नियमानुसार राहत तथा क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिने सहमति भएको छ ।
सहमतिपछि लौकही क्षेत्रको अवस्था सामान्य बन्ने अपेक्षा गरिएको छ ।
तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीले गएराति गोली चलाउँदा ४५ वर्षीय साहको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनापछि आक्रोशित स्थानीय बासिन्दाले गरेको प्रदर्शनका कारण लौकही बजार तनावग्रस्त बनेको थियो ।









