छापिएको मतपत्र यही महिनाको अन्तिमबाट सम्बन्धित जिल्लामा पठाइने
माघ २५, २०८२ | काठमाडौं
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि छापिएको मतपत्र यही महिनाको अन्तिमबाट सम्बन्धित जिल्लामा पठाइने भएको छ । निर्वाचन आयोगले यसबारे तयारी गरिरहेको जनाएको छ ।
तयारी अवस्थामा राखिएका मतपत्र जिल्लामा पठाउन सुरु गर्ने निर्णय आयोगले गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले फागुनको पहिलो साताभित्रमा मतपत्र सम्बन्धित जिल्लामा पु¥याइसक्ने लक्ष्य लिएको बताउनुभयो ।
नेपाली सेनाको सुरक्षामा मतपत्र सम्बन्धित जिल्लामा पठाइने आयोगको तयारी छ । सेनाले सम्बन्धित जिल्लामा पठाएर मतपत्र जिल्ला सुरक्षा समितिलाई जिम्मा लगाउने छ र आवश्यकता अनुसार त्यसको सुरक्षा पनि सेनाले नै दिने छ ।
त्यस्तै, समानुपातिक र प्रत्यक्षतर्फको मतपत्र आयोगले एकै पटक ढुवानी गर्ने जनाएको छ । हाल जनक शिक्षा सामग्री केन्द्रले मतपत्र छापिरहेको छ । समानुपातिकतर्फको मतपत्र यसअघि नै छापिसकेको छ। प्रत्यक्षतर्फको भने छपाइ कार्य जारी छ ।











