'राजनीतिक दलहरुमा टिभेट प्रति चासो बढ्दै'

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २०, २०८२

आगामी प्रतिनिधिसभा सदस्य चुनावका लागि राजनीतिक दलले सार्वजनिक गरेको घोषणापत्रमा प्राविधिक व्यावसायिक शिक्षा तथा तालिम (टिभेट)को विषयलाई प्राथमिकताका साथ स्थान दिएको यस क्षेत्रका विज्ञले जनाएका छन् । टिभेटलाई घोषणापत्रमा समावेश गरिएपनि यर्थाथमा कहां ?  विषयक एक प्यानल छलफलमा सहभागी वक्ताहरुले सो तथ्य उजागर गरेका हुन । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन (कुसोड) अन्तर्गतको मास्टर इन टेक्निकल भोकेसनल एजुकेसन एण्ड टे«निङ (एमटिभेट)का विद्यार्थी तथा पूर्व विद्यार्थीको आयोजनामा गत शुक्रबार आयोजना गरिएको प्यालन छलफलमा यस क्षेत्रका विज्ञ डा. प्रकाश कुमार पौडेलले दलहरुले टिभेटका मुद्धालाई सम्बोधन गरेको देखिएको बताउनुभयो । दलहरुको घोषणापत्रमा टिभेटको अवस्था कुन स्थानमा छ  ? भन्ने प्रश्नको जवाफ दिंदै डा. पौडेलले विगतको तुलनामा यस क्षेत्रको महत्वलाई दलहरुले बुझ्दै गएको र युवाहरुलाई सीप मुलुक बनाउन प्रभावकारी योजना राखेको पाइएको बताउनुभयो । यस्तै, एमटिभेटकी विद्यार्थी एवं छलफलमा सहभागी अर्की वक्ता रोशना राईले युवालाई आर्यआर्जनमा सहभागी गराउने सन्दर्भमा दलहरुले पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता देखिएको बताउनुभयो । घोषणापत्रमा आकर्षक नारा रहे पनि प्राविधिक व्यावसायिक शिक्षा र तालिम क्षेत्रका शिक्षक, प्रशिक्षार्थी लगायत सबैको क्षमता विस्तारमा ध्यान दिनुपर्ने उहांको भनाई छ ।

यस्तै, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद(सिटिईभिटी)को तालिम विकास शाखाकी उप–निर्देशक सरिता रेग्मीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आवश्यक सीप मुलुक श्रमशक्ति उत्पादनमा आफ्नो संस्थाको भुमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो । राजनीतिक दलका घोषणापत्रमा युवाको सीप विकासलाई प्राथमिकता दिने उल्लेख गरिनुनै सिटिईभिटीको महत्व अझै धेरै रहेको बुझ्न सकिने उहांको भनाइ छ । कार्यक्रममा सहभागी अर्का वक्ता एवं उद्योग संगठन मोरङका महानिर्देशक चुडामणी भट्टराईले निजी क्षेत्रले टिभेटलाई अपनत्व लिंदै अघि बढिरहेको अवस्थामा दलहरुको यस क्षेत्र प्रति देखाएको झुकावलाई आशावादी रुपमा लिनुपर्ने बताउनुभयो । विगतका निर्वाचनमा बिरलै उठ्ने गरेको टिभेटका विषयलाई खुला रुपमा उल्लेख गरिनुनै यो क्षेत्रमो बृद्धि विकासका लागि महत्वपूर्ण खुटुकिला भएको उहांको भनाई थियो । कार्यक्रमको सहजकर्ताको भुमिका एमटिभेटका विद्यार्थी रमेश दुलालले गर्नुभएको थियो । 


प्रतिक्रिया