मौनअवधिको सूक्ष्म निगरानी

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २०, २०८२

निर्वाचन आयोगले जारी मौन अवधिका सूक्ष्म निगरानी गरिरहेको जनाएको छ । गत सोमबार रातिदेखि जारी मौन अवधिलाई प्रभावकारी कार्यान्वयन गराउन आयोगले सुक्ष्म निगरानी बढाएको हो । यसकालागि आयोगले निर्वाचन अधिकृतलाई निर्देशन दिइसकेको छ । सम्बन्धित जिल्लाका निर्वाचन अधिकृत र मातहतका कर्मचारीबाट निगरानी भइरहेको आयोगको भनाइ छ । आयोगले आचारसंहिताको पूर्ण पालना गरेर निर्वाचनलाई सफल पारिदिन सरोकारवाला निकायलाई पनि अनुरोध गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिको समयमा अनावश्यक गतिविधि नगर्न अनुरोध गर्दै हरेक राजनीतिक दलले एकअर्काको गतिविधिमा निगरानी गरेर मौन अवधिलाई सफल बनाउन सबैमा आग्रह गर्नु भएको छ । मौन अवधिमा तोकिएको आचरणविपरीत कुनै उम्मेदवार तथा राजनीतिक दलले गतिविधि गरेमा सम्बन्धित उम्मेदवारको मनोनयन नै रद्द हुनेछ ।

यसैबीच, आमनिर्वाचन पर्यवेक्षण समिति जियोकले भोलि हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । निर्वाचनको पूर्वतयारी अवस्थाको स्थलगत अवलोकन र कल सेन्टरमा प्राप्त सूचनाका आधारमा समग्रमा निर्वाचनपूर्वको वातावरण शान्तिपूर्ण र व्यवस्थापकीय दृष्टिले व्यवस्थित रहेको निष्कर्ष सार्वजनिक गरेको हो । जियोकले मतदान तयारी, राजनीतिक दलको सहभागिता, सहयोग, समन्वय, निर्वाचनका चुनौती, आयोगको तयारी र निर्वाचन सुरक्षाको अवस्थाबारे अध्ययन गरेको थियो । जियोकका महासचिव कृष्णमान प्रधानले निर्वाचनप्रति राजनीतिक दल प्रतिबद्ध र मतदाता उत्साहित रहेको जानकारी दिनुभयो । राजनीतिक दल, मतदाता, उमेदवार, नागरिक समाज, प्रेस, प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीसँगको भेटवार्ता र कुराकानीका आधारमा प्रतिवेदन तयार गरिएको थियो । 


प्रतिक्रिया