समानुपातिकको मतगणना सकियो
फाल्गुन २८, २०८२ | काठमाडौं
प्रतिनिधि सभाको निर्वाचनको समानुपातिक तर्फको मतगणना पनि सकिएको छ ।
सदर भएका मतमध्ये सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ५१ लाख ८३ हजार ४ सय ९३ मत पाएको छ । रास्वपाले पाएको मत कुल सदरमतको ४७ दशमलव ८ प्रतिशत हो । त्यस्तै, नेपाली कांग्रेसले १७ लाख ५९ हजार १ सय ७२ मत पाएको छ ।
कांग्रेसले सदर मतको १६ दशमलव २ प्रतिशत मत पाएको छ । नेकपा एमाले ले १४ लाख ५५ हजार ८ सय ८५ मत पाएको छ ।
उसले पाएको मत १३ दशमलव ४ प्रतिशत हो । नेपाली कम्युनिस्ट पार्टी नेकपाले ८ लाख ११ हजार ५ सय ७७ अर्थात ७ दशमलव ५ प्रतिशत मत पाएको छ ।
पाँचौ नम्बरमा रहेको श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ८ सय ५६ अर्थात ३ दशमलव ६ प्रतिशत र छैटौँ नम्बरमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ३ लाख ३० हजार ६ सय ८४ अर्थात ३ दशमलव १ प्रतिशत मत पाएको छ । चुनावमा भाग लिएका अन्य ५१ दलले भने थ्रेसहोल्ड कटाउन सकेनन् ।
समानुपातिकमा सिट पाउनका लागि सदर मतको ३ प्रतिशत मत आउनुपर्ने थियो । समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ८९८ मत खसेको छ । त्यसमध्ये एक करोड ८ लाख ३५ हजार २७ मत सदर भएको निर्वाचन आयोगले जनाएको छ ।
समानुपातिकतर्फ ४ लाख ५० हजार ८३ मत बदर भएका छन् । करिब ४ प्रतिशत मत बदर भएको आयोगका सूचना अधिकृत सुमन घिमिरेले जानकारी दिनुभयो ।
समानुपातिकको मतगणना सकिएसँगै अब सिट बाँडफाँटको काम सुरु भएको आयोगले जनाएको छ ।
आयोगले दलहरूले पाउने सिटका आधारमा सांसदको नाम सिफारिस गर्न पत्राचार गर्ने तयारी गरेको छ ।










