ए डिभिजन लिगको खेल तालिका सार्वजनिक

रेडियो कान्तिपुर संवाददाता

आश्विन ३, २०७५ | काठमाडौं

शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी र न्युरोड टिम एनआरटी भिड्ने भएका छन् । आगामी असोज १३ गतेबाट हुने प्रतियोगितामा यी दुईबीच प्रतिस्पर्धा हुने अखिल नेपाल फुटबल संघ एन्फाले आज सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ ।

पहिलो खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अपराह्न ३ बजे सुरु हुनेछ । ए डिभिजन लिगकै समयमा नेपालले बंगबन्धु गोल्डकपमा पनि सहभागिता जनाउने भएपछि लिग प्रभावित हुने देखिएको छ ।

बंगबन्धुको साविक विजेता नेपालको राष्ट्रिय टोली सो प्रतियोगितामा सहभागिता जनाउन बंगलादेश जाने हुँदा खेलाडी अभाव हुने भन्दै क्लबहरुले असन्तुष्टी जनाएका छन् । 

राउण्ड रोविन लिगमा १४ क्लव सहभागी हुनेछन् । ललितपुरको सातदोबाटो र हल्चोकस्थित एपीएफ मैदानमा कुल ९१ खेल हुनेछन् ।

प्रतियोगिताको विजेताले ५०, उपविजेताले ३५ र तेस्रो हुनेले २५ लाख रुपैयाँ हात पार्नेछन् । चौंथो हुनेले १५, पाँचौले ७ र छेठौँ हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको विजेता टोली एएफसी एशियन कप फुटबल प्रतियोगितामा सहभागी हुन पाउने छ । रेलिगेशन बिनाको लिगको पुछारमा रहने २ टोलीको अंक अर्को वर्ष हुने लिगमा घटाउने तथा तयारी वापत दिइने रकममा कटौती गर्ने एन्फाले जनाएको छ । 

 


प्रतिक्रिया