शिरिषलाई ओपन वाटर पौडीको उपाधि

आश्विन २६, २०७५ | लेखनाथ

ओलम्पियन शिरिष गुरुङले पोखरामा भएको आठौं ओपन वाटर पौडी प्रतियोगिताको उपाधि जितेका छन् । पोखराको फेवातालमा शुक्रबार भएको प्रतियोगितामा नेपाली सेनाका उनले निर्धारित २ दशमलव ५ किलोमिटर दूरी २१.३२.६७ मिनेटमा पार गर्दै पहिलो भएका हुन् । 

यसअघि उनले प्रतियोगिताको पाँचौं र छैठौं संस्करणमा उपाधि जितेका थिए । सन् २०१५ मा १९ दशमलव ४० मिनेटमा दूरी पार गरेको रेकर्ड उनकै नाममा छ ।

प्रतियोगितामा वेदज्ञराज जोशी दोस्रो भए । उनले २१.३८.११ मिनेटमा दूरी पार गरे । दीपंकर अवाले २१.४२.९२ मिनेटमा निर्धारित दूरी पार गरेर तेस्रो भए । उनीहरुले क्रमश: २५ हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।

महिलातर्फ काठमाडौंकी उपास्ती महर्जन पहिलो भइन् । उनले २२.३३.३५ मिनेटमा दूरी पार गरिन् । समिराशोभा थापाले २३.५५.९५ मिनेटमा दूरी पार गरेर दोस्रो स्थान हासिल गरिन् । तेस्रो भएकी श्रेबी महर्जनले २४.०५.७७ मिनेटमा दूरी पार गरिन् । विजेताले क्रमश: १० हजार, ८ हजार र ५ हजार रुपैयाँ प्राप्त गरे । 

पोखराका खेलाडीमध्येबाट धनमान गुरुङ पहिलो भए । उनले २६.४८.७४ मिनेटमा दूरी पूरा गरे । अर्जुन नेपालीले ३०.१८.१० मिनेटमा दूरी पार गरेर दोस्रो र ठाकुर चौधरीले ३३.५६ं.४९ मिनेटमा दूरी पार गरेर तेस्रो भए । उनीहरुले क्रमश: ८ हजार, ५ हजार र ३ हजार रुपैयाँ पाए । 

प्रतियोगिले फेवातालको बाराहीघाट पौडी सुरु गरी तालपारी पुगेर पुन: बाराहीघाट फर्किएका थिए । प्रतियोगितामा ५ विदेशी सहित ४० खेलाडी सहभागी भए ।

महिलातर्फ १० जनाले प्रतिस्पर्धा गरे । नेपाल पौडी संघको सहयोगमा कास्की जिल्ला पौडी संघ र जिल्ला खेलकुद विकास समितिले प्रतियोगिता गरेको हो । विजयी खेलाडीलाई प्रदेश सांसद राजीव पहारीले पुरस्कार वितरण गरे । 


प्रतिक्रिया