विश्वकप क्रिकेट अघिको अभ्यासमा अफगानिस्तान विजयी

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ११, २०७६ | एजेन्सी

ईङल्याण्ड र वेल्समा हुने आईसीसी विश्वकप क्रिकेट २०१९ अघिको अभ्यास खेलमा साउथ अफ्रिका र अफगानिस्तान विजयी भएका छन् । साउथ अफ्रिकाले श्रीलंकालाई ८७ तथा अफगानिस्तानले पाकिस्तानलाई ३ विकेटले स्तब्ध पारे । 

३ सय ३९ रनको लक्ष्यसहित जवाफि ब्याटिङमा उत्रिएको श्रीलंका ४२ दशमलव ३ ओभरमा २ सय ५१ रनमा समेटियो । एण्डीले लक्कीले ४ तथा लुंगी निग्दीले २ विकेट लिएपछि श्रीलंका कम स्कोरमा समेटिएको हो । कप्तान दिमुथ करुणारत्नेले ८७ र एंगेलो म्याथुजले ६४ रन बनाएपनि अन्य ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न नसक्दा श्रीलंका हार भोग्न बाध्य भयो । 

यसअघि कार्डिफमा पहिले ब्याटिङ गरेको साउथ अफ्रिकाले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३ सय ३८ रनको उच्च योगफल तयार पारेको थियो । उसका लागि कप्तान फाफ डुप्लेसीसले ८८, हासिम अम्लाले ६५ र भान डेर दुसेनले ४० रनको योगदान दिए । सुरंगा ल्याकमल र नुवान प्रदिपले साउथ अफ्रिकाको समान २ विकेट लिए । 

पाकिस्तानविरुद्ध शनसनीपूर्ण जित निकाल्दै अफगानिस्तानले विश्वकपमा आफ्नो बलियो उपस्थितिको संकेत गरेको छ । पाकिस्तानले प्रस्तुत गरेको २ सय ६३ रनको चुनौती अफगानिस्तानले २ बल अगाबै ७ विकेट गुमाएर भेट्टायो । उसको जितमा हास्मतुल्लाह साहिदीले अविजित ७४ रन बनाउँदै टोलीलाई जिताए ।

हज्रतुल्लाह जजाईले ४९, महम्मद नावीले ३४ र रहमत शाहले ३२ रनको योगदान गरे । यसअघि ब्रिस्टोलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले बाबर अजामको शतक मद्दतमा ४७ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर २ सय ६२ रनको मध्यम योगफल तयार पारेको थियो । सोयब मल्लीकले ४४ र ईमाम उल हकले ३२ रनको योगदान गरे ।

अफगानिस्तानका महम्मद नाबीले ३ तथा दवलात जर्दान र रासिद खानले समान २ विकेट हात पारे । विश्वकप क्रिकेट अघिको वार्म अफ म्याचमा आज इङल्याण्ड र अष्ट्रेलिया तथा ईण्डिया र न्यूजिल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । 


प्रतिक्रिया