सरकारको कामको समीक्षा नयाँ अभ्यास : मन्त्री बाँस्कोटा

रेडियो कान्तिपुर संवाददाता

असार २६, २०७६ | काठमाडौं

सरकारले चालू आर्थिक वर्षमा गरेका समग्र कामको समीक्षालाई राम्रो अभ्यास भएको दाबी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले चालू आर्थिक वर्ष भरि सरकारले गर्न सकेका र पूरा नभएका योजनाको समीक्षा गर्नु सुखद कामको सुरुवात भएको बताउनुभएको हो । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज भएको छलफलमा मन्त्री तथा सचिवहरुले कार्यप्रगति, आगामी दिनको योजना तथा अप्ठ्यारा र चुनौतीबारे जानकारी गराएका छन् । चालू आर्थिक वर्षमा लिएका लक्ष्यको प्रगति तथा आगामी आर्थिक वर्षको योजनाका विषयमा जानकारी गराउने क्रम जारी रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिनुभयो ।  

४ वटा मन्त्रालयले चालू आर्थिक वर्षका प्रगति विवरण बारे जानकारी दिन बाँकी रहेको र छलफलको क्रम भोलि पनि जारी रहने मन्त्री पण्डितले बताउनुभयो । दुई तिहाईको सरकार भएर पनि जनअपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै आलोचना खेपिरहेको सरकारले हालसम्मको समीक्षा गर्दै आगामी दिनको योजना बनाउन छलफल आयोजना गरेको हो ।

पछिल्ला केही निर्णय विवादित बनेपछि सरकार पछि हट्न बाध्य हुनु, पर्याप्त परामर्श बिना नै ल्याईएका विधेयकहरु फिर्ता हुनुले पनि सरकारलाई आलोचित बनाएको छ । आर्थिक सुचकांकमा समेत उल्लेख्य सुधार हुन सकेको छैन । जनसरोकारका विषयमा बढी संवेदनशील बन्दै भावी योजना बनाउन यो कार्यक्रम फलदायी हुने अपेक्षा सरकारको छ । चालू आर्थिक वर्षलाई संघीयता कार्यान्वयनको वर्षका रुपमा लिएको सरकारले आगामी आर्थिक वर्षबाट विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउने बताउँदै आएको छ ।  


प्रतिक्रिया