सागको अन्योलता हल्ला मात्र हो : अध्यक्ष श्रेष्ठ 

रेडियो कान्तिपुर संवाददाता

श्रावण २८, २०७६ | काठमाडौं

- नेपाल ओलम्पिक कमिटीले भारत र पाकिस्तानका कारण १३ औँ दक्षिण एसियाली खेलकुद साग प्रभावित हुने हल्ला अनावश्यक भएको दाबी गरेको छ । सागका लागि भारत र पाकिस्तानको प्रतिबद्धता नआएकाले प्रतियोगिता प्रभावित हुने समाचार सार्वजनिक भइरहँदा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले त्यसमा कुनै सत्यता नभएको जिकिर गर्नुभयो ।

आयोजकका नाताले नेपालले सबै मुलुकलाई निमन्त्रणा पठाएको र खेलाडी तथा टिम दर्ताको समयपनि उपलब्ध गराईसकेकाले प्रतिबद्धताको औचित्य नहुने श्रेष्ठको भनाई थियो । भारतले जुलाई २३ मै निमन्त्रणा स्वीकार गरिसकेको र पाकिस्तानको निमन्त्रणा दुतावासमार्फत पठाईसकेको भन्दै उहाँले दुबै मुलुकले कार्तिक १४ गतेभित्र टिम र खेलाडीको दर्ता गर्ने उल्लेख गर्नुभयो ।

रेडियो कान्तिपुरसँग कुरागर्दै श्रेष्ठले भन्नुभयो– खेलाडी र टोलीको दर्ताका लागि कार्तिक १४ गतेसम्मको समय–सीमा छ, दुबै मुलुक प्रतियोगितामा सहभागिता जनाउन प्रतिबद्ध रहेको अवस्थामा किन यस्तो भ्रमपुर्ण समाचार आईरहेको छ, हामी नै आश्चर्यमा छौँ । 

भारत र पाकिस्तानबीचको सम्बन्धका कारण साग प्रभावित हुन सक्ने भन्दै पछिल्लो समय चर्चा चलिरहेका बेला ओलम्पिक कमिटी अध्यक्ष श्रेष्ठले त्यसको सम्भावना नरहेको बताउनुभएको हो । काठमाण्डौ र पोखरामा मंसिर १५ देखि २५ सम्म हुने प्रतियोगिताका लागि सातै देशले तयारी थालिसकेको श्रेष्ठको भनाई थियो ।   


प्रतिक्रिया