पार्टी फुटेपछि उपेन्द्र यादवको राजनीतिक भविष्य अब कता ?

वैशाख २५, २०८१ | काठमाडौं

झन्डै दुई दशकको अवधिमा भएका मधेस आन्दोलनले परिचित गराएको एक राजनीतिक पात्र हुन्–उपेन्द्र यादव । २०६३ सालको अन्तरिम संविधान विरुद्ध आवाज उठाउँदै मधेसको मुद्धासँग जोडिएका यादवले थुप्रै राजनीतिक आरोह–अवरोह पार गर्दै आएका छन् । मधेस आन्दोलनसँगै सत्ता राजनीतिका खेलाडी भएका यादव सम्मिलित पार्टी पटक–पटक विभाजन भएको छ । तर यसपटक जनता समाजवादी पार्टी जसपा नेपाल विभाजन हुँदा उनलाई ठूलै धक्का लागेको विश्लेषण गरिएका छन् । पार्टी विभाजनले व्यक्तिगत रुपमा यादवलाई मात्र होइन, मधेस केन्द्रित राजनीतिलाई दुरगामी असर पर्ने ठानिएको छ ।

वि.सं २०६३ को अन्तरिम संविधानमा संघीयताको बिषय उल्लेख नभएपछि शुरु भएको आन्दोलनसँगै क्षेत्रीय दलहरुको उदय भएको थियो । केही बर्ष पहिलादेखि मधेसी जनअधिकार फोरम नामक संस्था चलाउँदै आएका उपेन्द्र यादवले मधेश आन्दोलनकै आलोकमा आफ्नो राजनीतिलाई अघि बढाएका थिए । त्यस्तै, कंग्रेस परित्याग गरेका महन्थ ठाकुरको नेतृत्वमा त्यतिवेला तराई मधेस लोकतान्त्रिक पार्टी तमलोपा गठन भएको थियो । यसरी उदाएका मधेस केन्द्रित दलहरुको विभाजन शृङखला निरन्तरता पाइरहँदा जनता समाजवादी पार्टी नेपाल पुनः विभाजित भएको हो । 

 विभाजनको विगत हेर्दा मधेसी जनअधिकार फोरम विभाजित भएको केही बर्षपछि यादवले अशोक राई लगायत नेताहरुसँग मिलेर संघीय समाजवादी फोरम बनाएका थिए । सो पार्टीसंग मिलेर बाबुराम भट्टराईको नयाँ शक्ति एकै ठाउँमा उभिएपछि समाजवादी पार्टी बनेको थियो । त्यसको केही समयपछि समाजवादी र तत्कालिन राष्ट्रिय जनता पार्टी मिलेर जसपा नेपाल बनेको थियो । त्यही पार्टीले भने चार बर्षको अवधिमा ३ पटक विभाजनको मार खेप्नु परेको छ । जसपा नेपाल गठन भएको ठीक एकवर्षपछि २०७८ भदौंमा महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरुले पार्टीबाट अलग भइ लोकतान्त्रिक समाजवादी पार्टी लोसपा गठन गरेका थिए । त्यसको एक वर्षपछि नै २०७९ मा डा. बाबुराम भट्टराई, महिन्द्र राय यादवलगायतका नेताहरुले जसपाबाट अलग भइ नेपाल समाजवादी पार्टी गठन गरेका थिए । 

दुई पटक पार्टी विभाजन भएपनि आफ्नो प्रभाव कायम राखेका उपेन्द्र यादवले एमालेसँग केही स्थानमा तालमेल गदै २०७९ मंसिरको निर्वाचनबाट प्रतिनिधिसभामा १२ सिटसहितका दल बनाउन सफल भएका थिए । तर अहिले आएर अशोक राई, वीरेन्द्र महतो, प्रदीप यादव, सुशीला श्रेष्ठ, नवलकिशोर साह सुडी, हसिना खान र रञ्जुकुमारी झासहित ७ सांसदले जनता समाजवादी पार्टी जसपा घोषणा गरेका छन् । उनीहरु नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुग्दा जसपा औपचारिक रुपमै विभाजन भएको छ । पार्टी विभाजनको कारण के हो त ? नवगठित जसपाका नेता राजेन्द्र श्रेष्ठ वैचारिक राजनीतिक एवं संगठनात्मक दृष्टिले पार्टीलाई अघि बढाउन गरिएको पहल कार्यान्वयमा नजाँदा पार्टी विभाजन भएको बताउँछन् ।

जनकपुरमा आगामी जेठको अन्तिम साता राष्ट्रिय महाधिवेशन गर्ने तयारी चलिरहँदा राई पक्षधरहरुले पार्टी छाडेपछि अध्यक्ष यादवलाई राजनीतिक संकट थपिएको छ । वर्तमान सरकारमा उपप्रधानसहित स्वास्थ्य मन्त्री भएका यादवसँग अब आफूसहित ५ सांसद मात्र बाँकी छ । एकातर्फ पार्टीलाई वैचारिक एवं सांगठनात्मक रुपले अघि बढाउन पटक–पटक गरेको पहलकदमीमा नेतृत्वबाट सुनुवाई नभएको तर्क राई पक्षधरले गरेका छन् । तर आसन्न महाविधेशनको त्रासमा परेका नेताहरुले पार्टी विभाजन गरेका सो पार्टीका प्रवक्ता एवं यादव पक्षधरका नेता मनिषकुमार सुमनको भनाइ छ ।

यादव नेतृत्वको जसपा नेपाल विभाजनको बाछिटा प्रदेशसभाको राजनीतिमा समेत पर्ने निश्चितप्राय छ । मधेश प्रदेशसभामा जसपा नेपालका १९ सांसदसमेत विभाजित बन्ने संशयकाबीच सरकार अल्पमतमा पर्ने जोखिम उत्तिकै बढेको छ । मधेसको राजनीतिमा प्रभावशाली पात्र मानिएका उपेन्द्र यादवलाई यो पटक ठूलै धक्का लाग्ने विभिन्न कोणबाट विश्लेषण भइरहेका छन् । पार्टी विभाजनले यादवको व्यक्तिगत नभइ समग्र पार्टीको संगठनात्मक संरचनामा नै असर पर्ने विश्लेषक रोशन जनकपुरी.बताउँछन् ।

पार्टी विभाजन भएपछि जसपा नेपाल र जसपाले केन्द्रीय सत्ता गठबन्धनमा आफूलाई कुन कित्तामा उभ्याउँछन् भन्ने निश्चित देखिएको छैन । भलै दुवै पार्टीका नेताले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन कायम राख्ने बताएका छन् । सत्ता समीकरण भन्दा पनि जसपा नेपालको विभाजनको सबैभन्दा ठूलो असर भने मधेसको राजनीतिमा पर्ने ठानिएको छ । किनभने कुनै बेला सबैभन्दा ठूलो मधेस केन्द्रित दल अहिले ५ सिटमा खुम्चिएको छ । 


प्रतिक्रिया