समाजवादी पार्टीले संविधान दिवसमा कुनै कार्यक्रम नगर्ने

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३०, २०७६ | काठमाडौं

समाजवादी पार्टीले हालको संविधान त्रुटिपूर्ण एवम् अपूर्ण रहेको भन्दै संविधान दिवसका दिन कुनै कार्यक्रम नगर्ने भएको छ ।

उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव केन्द्रीय समिति अध्यक्ष रहेको सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संविधान जारी भएको दिनको सम्झनामा मनाइने संविधान दिवसको दिन कुनै कार्यक्रम नगर्ने तथा सहभागि नहुने निर्णय गरेको हो ।

बैठकपछि सो पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, २०७२ सालको विद्यमान संविधान त्रुटिपूर्ण एवम् अपूर्ण रहेकोले संविधान जारी भएको दिन असोज ३ गतेको सन्दर्भमा खुशीयालीको रुपमा दिपावली वा विरोधको रुपमा कालो दिवस दुवै नमनाउने र त्यस्ता कार्यक्रमहरुमा सहभागी पनि नहुने निर्णय पार्टीले गरेको छ ।

सरकारले भने सो दिनलाई भव्यताका साथ मनाउने निर्णय गर्दै दिपावली गर्न सर्वसाधारणलाई समेत आग्रह गरेको छ । 

सो दिन सात वटै प्रदेशको राजधानीमा ‘‘संविधान संशोधनको अपरिहार्यता र आवश्यकता’’ विषयक अन्तरक्रियात्मक कार्यक्रम गरिने पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख प्रशान्त सिंहले जानकारी दिनुभयो । 


प्रतिक्रिया