संविधान जारी भएको चार वर्ष पूरा

रेडियो कान्तिपुर संवाददाता

आश्विन ३, २०७६ | काठमाडौं

नेपालका सबै क्रान्ति र आन्दोलनका प्राप्त उपलब्धीलाई संस्थागत गर्दै संविधान सभामार्फत ‘नेपालको संविधान’ जारी भएको दिनको सम्झनामा आज चौंथो संविधान दिवस मनाईदै छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता र सामाजिक न्याय नेपालको संविधानका मूलभूत विशेषता हुन् ।

नेपाललाई विश्वमा नै सहभागितामूलक लोकतान्त्रिक देशको परिचय दिएको संविधानका मूल विशेषतामा आवधिक निर्वाचन, लोकतान्त्रिक मूल्य र मान्यता, कानूनको शासन, कानूनी राज्यको अवधारणा, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता र समाजवाद रहेका छन् । 

संविधान जारी भएको चार वर्षको अवधिमा तीनै तहको निर्वाचन भएर मुलुकले निर्वाचित जनप्रतिनिधि पाईसकेको छ । यद्यपि, संघ ,प्रदेश र स्थानीय तह सञ्चालनका निम्ति कयौं कानून अभावमा पनि कार्यसञ्चालनमा रहेका उल्झन समाधानको चुनौती कायमै छ । भ्रष्टाचार नियन्त्रण, बेथिति, विकास निर्माणका कार्य अघि बढाउनु, विदेशी लगानी मुलुक भित्राउनु सरकारका चुनौती हुन् ।

संविधान दिवसका अवसरमा सरकारले काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । निजामती कर्मचारी सहित नेपाल सरकारका कर्मचारी सहितको प्रभातफेरी टुंडीखेल पुगेको थियो । टुंडीखेलको कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानसेनापति, मन्त्रीहरु सहित उच्च पदस्थ ब्यक्ति सहभागी थिए ।

नेपाली सेना, नेपाल र सशस्त्र प्रहरीले कला तथा युद्ध कौशल प्रदर्शन गरेका थिए । सरकारले राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको दिवसका अवसरमा मुलुकभर विहानै देखि कार्यक्रम भइरहेका छन् । सरकारले देशैभर आज घर–घरमा राष्ट्रिय झण्डा प्रर्दशन गर्दै दिपावली गर्न अपिल गरेको छ । 


प्रतिक्रिया