मन्थलीमा बहुउद्देशीय कभर्डहल निर्माण सुरु 

भाद्र १७, २०७६ | रामेछाप

रामेछापको मन्थली नगरपालिकास्थित भुत्याहा खोला किनारमा बहुउद्देशीय कभर्डहल निर्माण थालिएको छ । खेलकुदका साथै अन्य कार्यक्रम समेत गर्न मिल्ने गरी सो कभर्डहल निर्माण थालिएको हो । 

प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको सो कभर्डहलको प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले मंगलबार शिलान्यास गर्नुभयो । कभर्डहल तोकिएको समयमा निर्माण पूरा गर्नका लागि सम्बन्धित पक्षलाई उहाँले निर्देशन दिनुभयो ।

विकास निर्माणका लागि अहिलेको युग स्वर्णीम भएको भन्दै उहाँले गुणस्तरीय निर्माण कार्य गर्नुपर्नेमा जोड दिनुभयो । ‘विकास भएर मात्र पुग्दैन सुशासन पनि चाहिन्छ’ ढुंगेलले भन्नुभयो, त्यसका लागि योजना सम्बन्धी सम्पूर्ण विवरण सहितको बोर्ड राख्नुपर्ने हुन्छ ।’

सडक, स्वास्थ्य, कृषि, पशुपालन, खेलकुद, पर्यटन लगायत क्षेत्रमा प्रदेश सरकारले दर्जनौं योजना सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो । सार्वजनिक निर्माण कार्यान्वयन इकाई धुलिखेल काभ्रेका आयोजना प्रमुख पूर्णबहादुर दर्जीका अनुसार करीब १३ करोड १३ लाख ९० हजार रुपैयाँको लागतमा निर्माण हुने सो कभर्डहलमा बास्केटबल, भलिबल, व्याडमिन्ट र टेवलटेनिस जस्ता खेल सञ्चालन गरिनेछ ।

अत्याधुनिक कभर्डलमा करीब १ हजार २ सय दर्शक अटाउन अनुमान गरिएको छ । 

जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खडकाको अध्यक्षतामा भएको सो कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेतले नगरका बहुआयमिक विकास गर्ने उद्देश्यले गौरवका योजना निर्माण थालिएको बताउनुभयो । 

प्रदेश सरकारले यसै वर्ष देखि रंगशालाको निर्माणको समेत योजना अघि सारेको छ । प्यारापिट सहितको रंगशाला मन्थलीको सानिमदौमा निर्माण हुने सार्वजनिक निर्माण कार्यान्वयन इकाई धुलिखेल काभ्रेका आयोजना प्रमुख दर्जीले बताउनुभयो । यस अघि फुलबल, भलिबल लगायतका क्रियाकलाप सञ्चालन गर्न स्थानको अभाव झेल्दै आएका खेलाडीहरु एकैपटक दुई ठूला योजना कार्यान्वयनमा आएकोमा हर्षित छन् । 


प्रतिक्रिया