अष्ट्रेलियामा ४ महिनापछि फुटबल लिग सुरु हुँदै

असार ३०, २०७७ | काठमाडौं

कोरोना महामारीको असर बिस्तारै कम हुँदै गएपछि अष्ट्रेलियामा ४ महिनापछि फुटबल लिग सुरु हुने भएको छ । अष्ट्रेलियाली फुटबल संघले आगामी शुक्रबारबाट ए लिग सुरु गर्ने जनाएको हो । तीन टीम मेलवर्न भिक्ट्री, वेस्टर्न युनाईटेड र मेलवर्न सिटीको टीम सिड्नीमा छ ।

खेलाडीहरुलाई १४ दिनको क्वारेन्टिनमा राखिएपछि प्रतियोगिता सुरु हुन लागेको हो । कोरोनाका कारण ए लिगमा सीमित दर्शकहरुलाई मात्रै प्रवेश दिइने छ । ४ हजार ५ सय दर्शकलाई मात्रै रंगशालामा प्रवेश गराइने बताइएको छ । पहिलो खेलमा आगामी शुक्रबार सिड्नी एफसी र वेलिंग्टन फिनिक्सबीच प्रतिस्पर्धा हुने छ ।

यस्तै, दक्षिण एसियाली मुलुक भुटानले अर्काे महिनाबाट शीर्ष डिभिजनको लिग सुरु गर्ने भएको छ । नयाँ सिजनको भुटान प्रिमियर लिग अगष्ट १ बाट सुरु गर्ने त्यहाँको फुटबल संघले जनाएको छ । लिगका सबै खेलहरु बन्द रंगशालामा आयोजना हुनेछन् । 

क्लबका समर्थकलाई घरमै बसेर खेलको मजा लिन फुटबल संघले आग्रह गरेको छ । भुटानी लिगमा ८ टिमको सहभागिता रहने छ । पारो एफसी, पारो युनाईटेड, तेन्सुङ एफसी, उग्येन एकेडेमी, हाई क्वालिटी युनाईटेडले शीर्ष लिग खेल्दैछन् । त्यस्तै ट्रान्सफोर्ट युनाईटेड एफसी, थिम्पु सिटी एफसी र डु्रक स्टार्स एफसीले पनि शीर्ष डिभिजनको लिगमा भाग लिंदैछन् । 


प्रतिक्रिया