शीर्ष स्थानको दिल्ली र किंग्स एलेवन पञ्जाव भिड्दै

कार्तिक ४, २०७७ | काठमाडौं

प्लेअफको सम्भावना जीवितै राख्न जित्नैपर्ने दबाबमा रहेको किङ्ग्स एलेवन पञ्जाबले इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज शीर्ष स्थानको दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्दैछ । 

संयुक्त अरब इमिरेट्सको दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा ओर्लिंदा दिल्ली स्वभाविक रुपमा मनोवैज्ञानिक फाइदामा हुनेछ । 

यसअघिका ९ मध्ये ७ खेलमा जित हात पारेको दिल्ली तालिकाको शीर्ष स्थानमा कायम रहन आठौं जितको खोजीमा छ । यसमा कप्तान श्रीयस ऐयर सम्झौता गर्ने मुडमा छैनन् । 

तर, केएल राहुलको कप्तानीमा मैदान उत्रने पन्जाबविरुद्ध जित निकाल्न दिल्लीलाई सहज भने छैन । पञ्जाब चौंथो जित दर्ता गर्न दिल्लीलाई माथ खुवाउने पक्षमा छ । मात्रै २ वटा जित दर्ता गरेको पञ्जाब ६ अंकमा तालिकाको पुछारबाट दोस्रोमा छ ।

जारी सिजनमा यसअघिको भेटमा दिल्लीसँग हारिसकेको पञ्जाब आज त्यसको बदला लिने सुरमा पनि छ । क्रिस गेलको आगमनपछि जितको श्रृृंखलालाई निरन्तरता दिएको पञ्जाब ग्लेन म्याक्स्वेल, क्रिस जोर्डन, मोहम्मद शामी लगायत खेलाडीमा निर्भर छ ।

दिल्ली पनि शिखर धवन, श्रीयस ऐयर, मार्कस स्टोनिस, अक्षर पटेल, कागिसो राबडामा निर्भर छ । तर, नेपाली लेग स्पीनर सन्दिप लामिछानेले आज पनि दिल्लीको प्लेइङ ११ मा स्थान बनाउनेमा शंका छ । 


प्रतिक्रिया