प्रधानमन्त्री कप क्रिकेट : प्रदेशस्तरीय छनोट खेलमा रुपन्देही च्याम्पियन

माघ १, २०७७ | तिलोत्तमा

रुपन्देहीको भैरहवामा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुषतर्फको लुम्बिनी प्रदेशस्तरीय छनोट खेलमा रुपन्देही च्याम्पियन भएको छ । बाँकेलाई १ सय ७ रनको फराकिलो अन्तरले पराजित गर्दै रुपन्देही च्याम्पियन भएको हो । 

टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ४० ओभरको खेलमा ८ विकेट क्षतिमा १ सय ८७ रनको योगफल तयार पारेको थियो । उसका लागि सन्दीप रजालीले सर्वाधिक ८९ रन बनाए । त्यस्तै, प्रकाश केसीले ३५, कृष्ण कार्कीले १९ र विक्रम भुसालले १४ रन बनाए । 

बाँकेका अजय साहनी र आकाश विष्टले ३/३ तथा दीपेन्द्र राउत र सिद्धान्तराज शाहीले १/१ विकेट लिए । बिहीबार सिद्धार्थ रंगशालामा भएको खेलमा जवाफी ब्याटिङ गरेको बाँके २६ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ८० रनमै समेटियो । उसका लागि रमेश सिंहले १९ र सुविन्द्र पाण्डेले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । 

बाँकेलाई सस्तैमा समेट्न रुपन्देहीका अनिल खरेलले ५ विकेट लिए । यस्तै, नितेश थापाले २, धिरज शाही, कृष्ण कार्की र दुर्गेश गुप्ताले समान १/१ विकेट लिए । प्रतियोगितामा रुपन्देहीका सन्दीप रजालीले म्यान अफ द फाइनल भई ५ हजार रुपैयाँ प्राप्त गरे । 

रुपन्देहीकै विक्रम भुसाल म्यान अफ द सिरिज घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । विजेता र उपविजेता टिमलाई नेपाल क्रिकेट संघका पूर्व केन्द्रीय सदस्य आशा गुरुङ लगायतले ट्रफी र प्रमाण पत्र प्रदान गरेका थिए । 

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छनोट गरी माघ ३ गतेदेखि काठमाडौंमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गरिने नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका सचिव सन्जय गुरुङले बताउनुभयो । 


प्रतिक्रिया