म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको फाइनलमा

वैशाख २२, २०७८ | काठमाडौं

इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको उपाधि नजिक पुगेको छ । सेमिफाइनलको दोस्रो लेगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–० गोलले पराजित गर्दै समग्रमा ४–१ को नतिजासँगै सिटीले फाइनलमा स्थान बनाएको हो । 

घरेलु मैदान इतिहाद स्टेडियममा सिटीलाई सहज जित दिलाउन दुबै गोल रियाद महारेजले गरे । खेलको ११ औं मिनेटमा पहिलो गोल गरेका महारेजले ६३ औं मिनेटमा अर्को गोल थप्दै टोलीलाई जित दिलाएका थिए । 

६९ औं मिनेटमा एन्जल डी मारिया रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पीएसजी त्यसपछिको समय १० खेलाडीमा सीमित बनेको थियो । हिउँका कारण मैदानमा समस्या भएपनि खेल भने सञ्चालन गरिएको थियो । 

बल पोजिसनमा पकड बनाए पनि पीएसजीका केही अवसर खेर गएका थिए । सिटीले च्याम्पियन्स लिगको उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग मे २९ मा प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलको दोस्रो लेगमा आज राति चेल्सी र रियल मड्रिड आमनेसामने हुँदैछन् । 

स्टाम्पफोर्ड ब्रिजमा हुने खेलमा दुबै टोली जित निकाल्दै सिटीसँगको उपाधि भेट पक्का गर्ने योजनामा रहेका छन् । रियलको मैदानमा भएको पहिलो लेग एक एक गोलको बराबरीमा सकिएको थियो ।


प्रतिक्रिया