क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेड फर्किने पक्का

भाद्र १२, २०७८ | एजेन्सी

म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डो क्लबमा फर्कने पक्का भएको जनाएको छ । युनाइटेडले क्लबका लिजेण्ड खेलाडी रोनाल्डो ओल्डट्राफोर्ड फर्कने विषयमा सहमति भएको पुष्टि गरेको हो । म्यान युनाइटेडले रोनाल्डोलाई क्लब फर्काउने विषयमा युभेन्ट्ससँग सहमति गरेको छ । युनाइटेडले रोनाल्डोसँग दुई वर्षको सम्झौता गर्दैछ । युनाइटेडको शहरी प्रतिद्धन्दी म्यानचेस्टर सिटीले समेत रोनाल्डो अनुबन्ध गर्न चाहेको थियो । तर युनाइटेडले नै इच्छा देखाएपछि सिटी पछि हटेको हो । युनाइटेडले नै रोनाल्डोलाई पोर्चुगलको स्पोर्टिङ लिस्वोनबाट इङ्ल्याण्ड ल्याएको थियो । रोनाल्डोले युनाइटेडमा ६ सिजन बिताएका थिए । सो समय उनले तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफ ए कप जिताएका थिए ।

सर एलेक्स फर्गुसनको नेतृत्वमा रोनाल्डोले युनाईटेडमा उत्कृष्ट प्रर्दशन गरेका थिए । रोनाल्डोले पूर्व क्लब फर्कने कुनै सम्भावना नरहेको बताएका थिए । पाँच पटकका वालेन डी ओर विजेता खेलाडी रोनाल्डोले करियरमा ३० मुख्य उपाधि जितेका छन् । उनले पाँच युईएफए च्याम्पियन्स लिगका साथै चार फिफा क्लब विश्वकप र सात वटा लिग इङ्ल्याण्ड, स्पेन र ईटालीबाट जितेका छन् । उनले देशकालागि युरो कप समेत उचालेका छन् । 


प्रतिक्रिया