राष्ट्रिय महिला हक्कीको उपाधिका लागि आर्मी र सुदूरपश्चिम भिड्ने

वीरगञ्जमा जारी चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो सेमिफाइनलमा नेपाल आर्मी र गण्डकी प्रदेशका खेलाडी भिड्दै । तस्बिर सौजन्य : सानो पाइला । 

माघ ७, २०७८ | पर्सा

त्रिभुवन आर्मी क्लब वीरगञ्जमा जारी चौंथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

शुक्रबार वीरगञ्जस्थित आदर्शनगर रंगशालामा भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेश टीमलाई ३–० गोलले पराजित गर्दै आर्मीले फाइनल यात्रा तय गरेको हो । 

उपाधिका लागि शनिबार नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश भिड्ने भएका छन् । एकतर्फी जस्तै बनेको खेलमा आर्मीले खेल अवधि भर आफ्नो नियन्त्रण राख्यो । आर्मीका लागि खेलको आठौं मिनेटमा सीता कुमारी चौधरीले पहिलो गोल गरिन् । 

२५ औं मिनेटमा अन्जना चन्द ठकुरी र ४६ औं मिनेटमा निलिमा पाण्डेले गोल गर्दै आर्मीको जित सुनिश्चित गरे । आर्मीकी सीता कुमारी चौधरी वुमन अफ द म्याच’ घोषित भइन् । 

शुक्रबार नै भएको दोस्रो सेमिफाइनलमा मधेश प्रदेशलाई २–० गोलले पराजित गरी सुदूरपश्चिमले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । सुदूरपश्चिमका लागि खेलको १५ औं मिनेटमा लक्ष्मी बम र ५६ औं मिनेटमा सुनिता नेगीले गोल गरिन् ।


प्रतिक्रिया