नेपाल ६ विकेटले विजयी

रेडियो कान्तिपुर संवाददाता

वैशाख २६, २०७९ | काठमाडौं

नेपालले पाहुना टोली जिम्बावे ए विरुद्धको तीन खेलको एकदिवसीय सिरिज २–१ ले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले जिम्बावे ए लाई ६ विकेटले पराजित गर्‍यो ।

 जितका लागि २ सय १४ रनको बलियो लक्ष्य पछ्याएको नेपालले ३० दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो । ओसिलो पिचका कारण ३३ ओभरमा छोट्याइएको खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले सानदार अर्धशतक बनाए । कुशलले ६१ बलमा ७ चौका र ४ छक्कासहित ८४ रनको सर्वाधिक योगदान गरे । दीपेन्द्रले ४ चौका र ३ छक्कासहित ६० रन जोडे । यस्तै, आसिफ शेखले २९, विनोद भण्डारीले २८ रन तथा सुनिल धमलाले ६ रन जोडे । 

यसअघि जिम्बावेले ३२ दशमलव १ ओभरमा अलआउट हुँदै २ सय १३ रन बनाएको थियो । नेपालका किशोर महतोले ५ विकेट हात पारे । यस्तै, सोमपाल कामीले २ तथा दीपेन्द्र र करणले १–१ विकेट लिए । तीन खेलको एकदिवसीय सिरिजमा जिम्बावेले पहिलो खेल ३ विकेटले जितेको थियो । नेपालले लगातार दुई खेल जित्दै सिरिज कब्जा गरेको हो । 


प्रतिक्रिया