तिलोत्तमा गोल्डकप चैत ४ बाट, प्रतियोगिताको तयारी पूरा

फाल्गुन २४, २०७९ | तिलोत्तमा

लुम्बिनी प्रदेशकै ठूलो मध्येको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २२ औं संस्करण आगामी चैत पहिलो साता हुने भएको छ । आयोजक रुपन्देही जिल्ला फुटबल संघले बुधबार पत्रकार सम्मेलन गर्दै चैत ४ देखि हुने ११ गतेसम्म हुने तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।

कोरोना भाइरसको महामारीका कारण रोकिएको प्रतियोगिता चार वर्षपछि सञ्चालन हुन लागेको हो । प्रतियोगितामा दुई विभागीय टोली नेपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफ सहित मनाङ मर्स्याङदी, रुपन्देही–११, थ्री स्टार, हिमालयन शेर्पा, फ्रेन्डस क्लब तथा सुदूरपश्चिम–११ गरी ८ टीमको सहभागिता रहने आयोजकले जनाएको छ । 

प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । 

उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोच गरी ५ वटा विद्यामा उत्कृष्ट खेलाडीलाई जनही ३० हजारका दरले नगद पुरस्कार दिइनेछ । प्रत्येक खेलको म्यान अफ द म्याच लाई ११ हजार १ सय ११ रुपैयां दिइनेछ । 

बुटवलस्थित एन्फा एकेडेमी मैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको संघका अध्यक्ष लोक पुनले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता सञ्चालनका लागि लामो समयदेखि मैदान व्यवस्थापनको काम भइरहेको थियो ।

‘यसबीच रनिङसिल्डदेखि विभिन्न घरेलु खेल आयोजना भए,’ पुनले भन्नुभयो, ‘जसले गर्दा मैदान तयार हुन समय लाग्यो ।’ अहिले मैदान खेल सञ्चालनका लागि तयार गरिएको छ । साथै प्रतियोगिता सञ्चालन खर्च जुटाउन सहयोगी संस्था खोज्नेदेखि सहभागी टिमलाई आमन्त्रण गर्ने काम पनि सकिएको संघले जनाएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय उपाध्यक्ष दीर्घ बहादुर केसीले बुटवल उपमहानगरपालिकाले प्रतियोगिता सञ्चालनका लागि ३५ लाख रुपैयाँ छुट्याएका कारण सहज भएको बताउनुभयो । 

‘यस बाहेक मुख्य प्रायोजकको टुंगो लगाएका छौं,’ केसीले भन्नुभयो, ‘मुलुकका राम्रा टिम आमन्त्रित गरेर प्रतियोगिता भब्य बनाउन लागेका छौँ ।’ प्रतियोगिता नियमित सञ्चालन गर्ने प्रयास भएपनि बीचमा कोरोना महामारीले प्रभावित भएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया