२२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिबारबाट सुरु हुँदै

चैत्र ३, २०७९ | तिलोत्तमा

तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २२ औं संस्करण शनिबारदेखि रुपन्देहीमा सुरु हुँदैछ । आयोजक रुपन्देही जिल्ला फुटबल संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै तिलोत्तमा गोल्डकप प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिएको हो । 

प्रतियोगिताको उद्घाटन खेलमा रुपन्देही–११ र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुनेछ । २०७५ मा २१ औं संस्करणको प्रतियोगितापछि कोरोना महामारी लगायत विभिन्न कारणले २२ औं संस्करण हुन नसकेको प्रतियोगिता ४ वर्षपछि २२ औं संस्करणको हुन लागेको संघका अध्यक्ष लोक पुनले बताउनुभयो । 

देवीनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा चैत ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभागीय सहित ८ टीमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफ, मनाङ मर्स्याङ्दी, रुपन्देही–११, थ्री स्टार, हिमालयन शेर्पा, फ्रेन्डस क्लब र सुदूरपश्चिम–११ ले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीले एक लाख/एक थान मोटरसाइकल, उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजार, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

बुटवल उपमहानगरपालिकाले प्रतियोगिताका लागि ३५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । प्रतियोगिताको उद्घाटन शनिबार २ बजे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गर्ने संघले जनाएको छ । गोल्डकपको फाइनल चैत ११ गते हुनेछ ।


प्रतिक्रिया