बाग्मती युथ क्लब मकवानपुर गोल्डकपको सेमिफाइनलमा

माघ २२, २०८० | मकवानपुर

सलार्हीको बाग्मती युथ क्लब छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

स्टार खेलाडीले भरिएको आयोजकको मकवानपुर–११ लाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै बाग्मतीले अन्तिम चारमा स्थान बनाएको हो । 

मकवानपुरको हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको खेलको निर्धारित समय २–२ को बराबरीमा टुंगिएको थियो । बराबरीसँगै सिधै टाइब्रेकर मार्फत् खेलको छिनोफानो गरिएको हो । 

टाइब्रेकरमा सर्लाहीका बाग्मतीका गोलरक्षक रोनक चौलाागाईंले उत्कृष्ट प्रदर्शन गरे । उनले राष्ट्रिय खेलाडी सुरजज्यू ठकुरीको प्रहार बचाएका थिए । उनी खेलको म्यान अफ दी म्याच घोषित हुँदै नगद दश हजार रुपैयाँ प्राप्त गरे ।

विजयी टोलीका तर्फबाट सिर्जन गौतम, आयुष रानामगर, निर्मल बल र अनिल मगरले गोल गरेका थिए । पराजित टोलीबाट अञ्जन विष्ट र स्टेफन समिरको प्रहार मात्र गोलमा परिणत भएको थियो । मकवानपुरका अमित तामाङको प्रहार बाहिरिएको थियो ।

निर्धारित समयमा सर्लाहीले खेलमा दुई पटक अग्रता बनाएको थियो । पहिलो हाफमा आयोजकको डिफेन्डरबीच तालमेल नमिलिरहेको अवस्थामा सर्लाहीले लगातार गोलको अवसर सिर्जना गरेको थियो । 

बाग्मतीका लागि अभी लामाले ४५ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता कायम गरेका थिए । एक गोलले पछाडि परेको हेटौंडाका लागि स्टेफन सामिरले ५५ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । 

बाग्मतीले ८१ औं मिनेटमा पुनः गोल गरेका थिए । उसका लागि अनिल राना मगरले गोल गरेका थिए । खेल सकिन एक मिनेट बाँकी रहँदा पुनः स्टेफनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । 

बाग्मतीले अब सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ र थ्रीस्टार क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत् सोमबार त्रिभुवन आर्मी क्लब र राजारानी क्लब धनकुटाबीच खेल हुनेछ ।  


प्रतिक्रिया