इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ विजयी

वैशाख १८, २०८१ | इलाम

प्रतिनिधिसभाको रिक्त एक सिटका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी हुनु भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार नेम्वाङ ५ हजार ८ सय ३० मतान्तरले विजयी हुनु भएको हो । 

यो जितसँगै एमालेले इलाम–२ मा करीब तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत जोगाएको छ । नेम्वाङले २७ हजार ७ सय ७२ मत पाएर विजयी हुनु भएको हो । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभयो । २०७९ को निर्वाचनमा खड्का सुवास नेम्वाङसँग ११४ मतान्तरमा पराजित हुनु भएको थियो । 

जितपछि मतदाताहरुलाई धन्यवाद दिँदै सुहाङले पार्टीले अवसर र जनताले भोट नदिएको भए यो जित सम्भव नभएको बताउनुभयो । २०८० भदौ २७ मा पूर्वसभामुख तथा पूर्व संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम–२ रिक्त थियो । 

रिक्त क्षेत्रको उपनिर्वाचनमा एमालेले गत चैत ११ मा नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । एमालेको यो निर्णयलाई धेरैले परिवारवादको आरोप समेत लगाएका थिए । 

एमालेका केही नेता कार्यकर्ताहरुको असन्तुष्टिलाई चिर्दै एमालेले निर्णय नफेर्ने अडान लिएको थियो । उम्मेदवारी दर्तापछि सुहाङको पक्षमा जनाधार सिर्जना गर्न एमाले अध्यक्षसहितका दर्जनौं नेता पटकपटक इलाम पुगेका थिए । 

कुल मतदाता १ लाख १५ हजार ८ सय ८९ रहेको यो क्षेत्रमा करिव ६९ हजार २ सय ८७ मत खसेको थियो ।


प्रतिक्रिया