राजारानी क्लब मकवानपुर गोल्डकपको सेमिफाइनलमा

माघ २३, २०८० | मकवानपुर

विभागीय टोली त्रिभुवन आर्मी क्लब सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । 

सोमबार हेटौंडा–६, गौरीटारमा रंगशालामा भएको खेलमा धनकुटाको राजरानी क्लबसँग सडनडेथमा ५–४ गोल अन्तरले पराजित भएसँगै आर्मीको हेटौंडा यात्रा पहिलो खेलमै टुंगिएको हो । 

निर्धारिय समयमा १–१ गोलको बराबरी भएसँगै खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा राजरानी क्लबका लागि विशाल घलान, रुपेश केसी, दीप कार्कीले गोल गरेका थिए । 

सुनिल खड्का र अशोक खवास गोल गर्न चुकेका थिए । आर्मीको तर्फबाट जितेन्द्र कार्की, कमल थापा र रसबहादुर मगरले गोल गरेका थिए ।

टाइब्रेकरमा ३–३ गोलको बराबरी भएपछि खेल सडनडेथमा गएको थियो । राजरानी क्लबका लागि प्रवेश दनुवार र उमेश कार्कीले गोल गरेका थिए । 

आर्मीका विमल पाण्डेले सडन डेथमा गोल गर्दा सिद्धान्त चौधरीका प्रहार धनकुटाका गोलरक्षक दीप कार्कीले बचाएका थिए । उनी खेलको म्यान अफ दी म्याच घोषित भए । 

आर्मीले खेलको पहिलो हाफ पूर्णरुपमा नियन्त्रणमा लिएपनि दोस्रो हाफमा कमजोर देखिएको थियो । 

जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको सेमिफाइनलमा धनकुटाको राजारानी क्लबले न्यूरोड टीम एनआरटीस“ग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया