एपीएफ मकवानपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश

माघ २४, २०८० | मकवानपुर

सशस्त्र प्रहरी बलको एपीएफले थ्रीस्टार क्लबलाई पराजित गर्दै मकवानपुरको गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको अन्तिम क्वार्टरफाइनलमा एपीएफले थ्रीस्टारमाथि ४–० गोल अन्तरलेको जित दर्ता गरेको हो । 

छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा न्यूरोड टीम एनआरटी र धनकुटाको राजारानी क्लब तथा एपीएफ र सलार्हीको बाग्मती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

एपीएफले ४५ औं मिनेटमा एनिसेटको गोलमार्फत अग्रता लिएको थियो । उनले फ्रिक्किमा गोल गरेका हुन् । थ्रीस्टारका डिफेण्डर जीवन गुरुङले प्रदीप लामालाई लडाएपछि एपीएफले फ्रिकिक पाएको थियो । 

खेलको ४८ औं मिनेटमा एपीएफका अनिस महर्जनले अग्रता दोब्बर बनाए । ५८ औं मिनेटमा एपीएफले अर्को गोल थप्यो । प्रदीप लामाको प्रहार थ्रीस्टारका गोलरक्षक अभिषेक बरालको हातबाट फुत्किएर गोलमा परिणत भएको थियो । 

खेलको ७७ मिनेटमा विदेशी खेलाडी सर्ज संगले चौथो गोल गर्दै एपीएफको जित सुनिश्चित गरे । खेलमा थ्रीस्टार सबै क्षेत्रमा कमजोर सावित भएको थियो । उसले खासै उत्कृट मुभहरु खेलमा बनाउन सकेन । 

खेलभर एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठलाई कुनै मुस्किल भएन । खेलको म्यान अफ द म्याच एपीएफका प्रदीप लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरे । 

एपीएफका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो रणनीति सफल भएको दाबी गर्नुभयो । आहाराराको उपविजेताको आफ्नो रणनीतिको अगाडि कमजोर सावित भएको उहाँको भनाई छ ।

थ्रीस्टारका प्रशिक्षक विक्रम लामाले आफ्नो खेलाडीको बचाउ गर्दै खेलाडीले राम्रो खेल्दाखेल्दै हार व्यहोर्नुपरेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले नया“ खेलाडीहरुलाई मौका दियौं । अनुभवका लागि खेलिरहेका छौं ।’ 

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिता माघ २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । 


प्रतिक्रिया