बुढासुब्बा गोल्डकपको फाइनलमा एनआरटी र एन्फा मोरङ भिड्दै

चैत्र ३, २०८० | सुनसरी

बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज न्युरोड टिम एनआरटी र मोरङ जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुँदैछ । 

सुनसरीको धरान रंगशालामा हुने फाइनल खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ । मोरङले सेमिफाइनलमा आयोजक धरान फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि यात्रा तय गरेको हो । 

एनआरटीले भने अन्तिम चारको खेलमा साविक उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पेनाल्टी सुटआउटमा ५–० गोल अन्तरले हराउँदै मोरङसँगको उपाधि भिडन्त पक्का गरेको हो । 

प्रतियोगिताको विजेताले ट्रफी सहित १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ हात पार्नेछन् भने सर्वाधिक गोलकर्तालाई ३५ हजार रुपैयाँ नगर पुरस्कारको व्यवस्था गरिएको आयोजक धरान फुटबल क्लबले जनाएको छ । 

यस्तै, विधागत उत्कृष्टले जनही २५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा एक भारतीय सहित ८ टिमको सहभागिता रहेको थियो ।


प्रतिक्रिया