सभापति कप फुटबलको फाइनलमा संकटा र बाग्मती भिड्ने

माघ १७, २०८१ | काठमाडौं

सभापति कप फुटबल प्रतियोगिताको उपाधिका लागि संकटा क्लबले आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बाग्मतीको सामना गर्ने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल साँझ ५ बजे सुरु हुनेछ । 

संकटाले पहिलो सेमिफाइनलमा मछिन्द्रलाई सडन डेथमा पराजित गर्दै सभापति कपको फाइनल यात्रा तय गरेको हो । दशरथ रंगशालमा भएको खेलको टाइब्रेकरमा संकटा ८–७ गोलले विजयी भएको हो । 

दोस्रो सेमिफाइनलमा बाग्मतीले न्यूरोड टिम एनआरटीलाई टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । दशरथ रंगशालामा भएको खेलमा बाग्मतीले एनआरटीलाई टाइब्रेकरमा ४–२ गोलले हराएको थियो ।

प्रतियोगितामा आयोजक टोली बाग्मती प्रदेशसहित मच्छिन्द्र, एपीएफ, नेपाल पुलिस, एनआरटी, संकटा, फ्रेन्ड्स र चर्च ब्वाइज युनाइटेड क्लबले सहभागिता जनाएका थिए । 

उपाधि विजेताले २६ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेताले १३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोल किपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार, उदीयमान खेलाडीलाई २५ हजार तथा प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । 


प्रतिक्रिया