सगरमाथा युथ क्लब इटहरी गोल्डकपको सेमिफाइनलमा

चैत्र ११, २०८० | सुनसरी

साविक विजेता सगरमाथा युथ क्लब इटहरी गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 

इटहरी रंगशालामा शनिबार राति भएको उद्घाटन खेलमा सगरमाथाले विभागीय टिम एपीएफ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । 

सगरमाथाको जितमा विमल घर्तीमगरले २ र विदेशी खेलाडी स्टेफिन समिर विलोङले १ गोल गरे । खेल सुरु भएको तेस्रो मिनेटमै स्टेफिन विलोङले गोल गर्दै टिमलाई अग्रता दिलाए । 

खेलको ३६ औं मिनेटमा विमल घर्तीमगरले गोल गर्दै सगरमाथालाई २–० को स्थितिमा पुर्‍याए । ८८ औं मिनेटमा विमलले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे । 

विमलले विजय भुजेलले उपलब्ध गराएको पासलाई सिधै जाली चुमाए । खेलको म्यान अफ द म्याच विमल नै घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । 

आईतबारको दोस्रो क्वाटरफाईनल खेल आयोजक राष्ट्रिय जागृति क्लब र कञ्चनजङ्घा फुटबल क्लब भारतबीच हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।


प्रतिक्रिया