एनपीएपलमा कर्णालीको पहिलो जित
मंसिर २१, २०८१ | काठमाडौं
नेपाल प्रिमियर लिग क्रिकेटमा कर्णाली याक्सले पहिलो जित हात पारेको छ । आज भएको खेलमा कर्णालीले चितवन राइनोजलाई ६ विकेटले हरायो ।
१ सय ३१ रनको लक्ष्य कर्णालीले १९ ओभरमा ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
कर्णालीका ओपनर शिखर धवनले सर्वाधिक ४६ रन जोडे ।चितवनका लागि रवि बोपारा, कुशल मल्ल र जान निकोल लफ्टी इटनले समान १ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ३० रन बनायो ।
उसका लागि रवि बोपाराले सर्वाधिक ५९ रन जोडेपनि जितका लागि पर्याप्त भएन । कर्णालीका विपिन शर्माले ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिए । जिशान मक्सुद र सोमपाल कामीले समान १ विकेट लिए ।
जितसँगै कर्णालीले २ अंक जोडेको छ । अघिल्ला खेलमा उ काठमाडौं गुर्खाज र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाजलाई हराएको चितवनले भने जारी लिगमा पहिलो हार व्यहोरेको छ ।