माछापुच्छ्रे पोखरा ओपन टेनिस आजदेखि
पुस ११, २०८१ | पोखरा
माछापुच्छ्रे पोखरा ओपन टेनिस प्रतियोगिताको २१ औं संस्करण पोखरामा आजदेखि सुरु हुँदैछ । कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता पोखरा रंगशाला टेनिस कोर्टमा हुने भएको हो ।
माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा महिला तथा पुरुषतर्फ सिंगल्स र डबल्स तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्षमाथि उमेर समूहमा प्रतिस्पर्धा हुने संघले जनाएको छ । संघका उपाध्यक्ष नविन चालिसेलेका अनुसार प्रतियोगितामा सहभागिताका लागि नेपालका विभिन्न जिल्ला र प्रदेशसहित भारत, भुटान, बेलायत, जापान, हङकङ लगायत मुलुकबाट खेलाडी पोखरा आएका छन् ।
ओपनतर्फ नेपालका शीर्ष वरीयताका प्रदीप खड्कासहित जीतेन्द्र परियार, कमल भण्डारी, आरभसम्राट हाडा, नेहालजंग थापा, रोहित सुनुवार, मनोज राणा र महिलातर्फ सुनिरा थापा, सलोनी तामाङ लगायत खेलाडीको सहभागिता रहने छ ।
पुरुष सिंगल्समा ३१, महिला सिंगल्समा ११, ३५ वर्षमाथि ३२, ४५ वर्षमाथि २९, ५५ वर्षमाथि २० जना सहित एक सयभन्दा बढी खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने संघले जनाएको छ । ओपनतर्फ पुरुष तथा महिला सिंगल्स बिजेताले ८० हजार र उपविजेताले ४० हजार रुपैयाँ पाउने छन् ।
सेमीफाइनल पुगेका खेलाडील २०–२० हजार रुपैयाँ प्राप्त गर्ने छन् । पुरुष तथा महिला डबल्सतर्फ विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कारस्वरुप पाउने छन् । सेमीफाइनल पुगेको टिमले १०–१० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
३५ वर्षमाथिको सिंगल्स विजेताले ६० हजार, उपविजेताले ३० हजार, सेमीफाइनलिस्टले १५–१५ हजार, ३५ वर्ष माथिको डबल्स विजेताले २० हजार, उपविजेताले १० हजार, सेमीफाइनलिस्टले १०–१० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
४५ वर्ष माथिको सिंगल्स विजेताले ४० हजार, उपविजेताले २० हजार, सेमीफाइनलिस्टले १०–१० हजार रुपैयाँ पाउने छन् । ४५ वर्ष माथिको डबल्स विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।