एनपीएलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

मंसिर २२, २०८१ | काठमाडौं

नेपाल प्रिमियर लिग क्रिकेट एनपीएलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भईरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ । 

एनपीएलमा दुबै टोलीको यो तेस्रो खेल हो । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी पहिलो जितको खोजीमा छ । यसअघिका दुई खेलमा हार व्यहोरेको लुम्बिनीलाई आजको खेल जित्नै पर्ने दबाब छ । लुम्बिनी पहिलो खेलमा विराटनगर किंग्स र दोस्रोमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।

यता सुदूरपश्चिम भने आफ्नो अपराजित यात्रा कायम राख्ने योजनामा छ । सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रन तथा दोस्रोमा काठमान्डु गुर्खाजलाई ७३ रनले हराएको थियो । 

सुदूरपश्चिम दुबै खेलमा जित हासिल गर्दै चार अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको जनकपुर बोल्टस्को ६ अंक छ । जितविहीन लुम्बिनी भने अंक तालिकाको पुछारमा छ ।

यसैबीच, एनपीएलमा आजै हुने दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सको सामना गर्नेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने कर्णाली र विराटनगरबीचको प्रतिस्पर्धा दिउँसो १ बजे सुरु हुनेछ । कर्णाली याक्स आज दोस्रो जितको लक्ष्यमा छ । 

यसअघिका तीन मध्ये दुई वटामा पराजित कर्णालीले एक खेल भने जितेको थियो । कर्णाली जनकपुर बोल्ट्ससँग आठ विकेटले र काठमान्डु गुर्खाजसँग तीन विकेटले पराजित भएको थियो । आफ्नो तेस्रो खेलमा भने चितवन राइनोजलाई ६ विकेटले हराएको थियो । 

यसअघि तीन खेल खेलेको विराटनगर किंग्सले दुईमा हार भोग्दै एक खेल जितेको थियो । विराटनगर जनकपुर बोल्ट्ससँग ८ विकेट र सुदूरपश्चिम रोयल्ससँग ९० रनले पराजित भएको थियो भने लुम्बिनी लायन्सलाई २ विकेटले हराएको थियो । कर्णाली दुई अंक सहित तालिकाको चौंथो स्थानमा छ । समान २ नै अंक जोडेको विराटनगर भने नेट रनरेटका आधारमा सातौँ स्थानमा रह्यो । 


प्रतिक्रिया