नेपाल प्रिमियर लिगमा सुदूरपश्चिमको पहिलो हार, जनकपुर अपराजित

मंसिर २३, २०८१ | काठमाडौं

नेपाल प्रिमियर लिग क्रिकेटमा सुदूरपश्चिम रोयल्सले पहिलो हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजसँग सुदूरपश्चिम ३३ रनले पराजित भएको हो ।

 टस जितेर सुरुवाती ब्याटिङ गर्दै चितवनले दिएको १ सय ६५ रनको लक्ष्य पछ्उने क्रममा १८ दशमलव २ ओभरमा अल आउट हुँदै १ सय ३१ रनमा समेटिएसँगै जारी प्रतियोगितामा सुदूरपश्चिमले पहिलो हार ब्यहोरेको हो । उसका लागि इसान पाण्डेले ३५ रन बनाउनु बाहेर अन्य ब्याटरले सन्तोषजनक प्रदर्शन सकेनन् ।

 सुदूरपश्चिमको इनिङ कमजोर बनाउने क्रममा चितवनका रिजन ढकाल, कुशल मल्ल, अमर रौटेला र जान निकोल लफ्टि इटनले समान २÷२ विकेट लिए । त्यसअघि चितवनले निर्धारित ओभरमा हसन इसाकीलको ६५ रनको अर्धशतकको मद्दतमा १ सय ६४ रन बनाएको थियो । आजको जित सँगै चितवन ४ खेलबाट ६ अङ्कसहित तेस्रो स्थानमा छ भने सुदूरपश्चिम समान अङ्कसहित नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

नेपाल प्रिमियर लिग क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार चौथो जित निकाल्दै अफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । 

 जनकपुरको अपराजित यात्रा  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित निकाल्दै जनकपुरले अपराजित यात्रालाई काम राखेको हो । 

टस हारेर सुरुवाती ब्याटिङ गर्दै जनकपुरले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी ८ विकेटको क्षतिमा १ सय ३५ रनमा समेटियो । लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले ३ चौकासहित सर्वाधिक ३५ रन बनाउँदा टोम मोरेसले २ चौका र १ छक्काको मद्दतमा २१ रन बनाए । 

जनकपुरका लागि हर्ष ठाकर नायक बने । उनले २३ रन खर्चिएर ५ विकेट लिए भने किशोर महतो, ललित राजवंशी र शेर मल्लले समान १÷१ विकेट लिए । त्यसअघि जनकपुरले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको थियो । उसका लागि अनिल शाहले ४५, लाहिरु मिलान्थाले २४ तथा शुभ कंशाकारले २२ रन बनाए ।

 लुम्बिनीका लागि अविशेष गौतमले ३, साद विन जफर र रोहित पौडेलले २÷२ विकेट लिए । जनकपुरले दिएको मध्यम लक्ष्य पूरा गर्न नसक्दा लुम्बिनी जारि प्रतियोगितामा लगातार चौथो हार ब्यहोर्न बाध्य भयो । खाता नै खोल्न नसकेको लुम्बिनी अङ्कतालिकाको आठौँ स्थानमा रहँदा अपराजित रहेको जनकपुर शीर्ष स्थानमा छ ।  


प्रतिक्रिया