कोल पाल्मरको दुई गोलको मद्दतमा चेल्सी विजयी

मंसिर २४, २०८१ | काठमाडौं

कोल पाल्मरको दुई गोल मद्दतमा चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामलाई पराजित गरेको छ । टोटनहम हटस्पर स्टेडियममा आइतबार भएको खेलमा चेल्सीले घरेलु टोली टोटनह्यामलाई ४–३ गोलले पराजित गरेको हो । 

डोमिनिक सोलाङ्कले पाँचौं र डेजान कुलुसेभस्कीले ११ मिनेटमा गोल गर्दै टोटनह्यामलाई २–० को अग्रता दिलाएका थिए । तर, १७ औं मिनेटमा चेल्सीका जेडोन सान्चोले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । 

दोस्रो हाफमा कोल पाल्मरले पेनाल्टी मार्फत दुई गोल गर्दै चेल्सीलाई ३–२ गोलको अग्रता दिलाए । खेलको ७१ औं मिनेटमा चेल्सीका लागि इन्जो फर्नान्डेजले निर्णायक गोल गरे । 

घरेलु टोलीका लागि सन ह्युङ–मिनले ९६ औं मिनेटमा गोल गरेपनि जितका लागि पर्याप्त भएन । यो जितसँगै चेल्सी उपाधि होडमा सामेल भएको छ । 

चेल्सी १५ खेलबाट ३१ अंकका साथ तालिकाको दोस्रो स्थानमा रह्यो । शीर्षमा रहेको लिभरपुलसँग यो चार अंकको दूरी मात्रै हो । लिभरपुलको १४ खेलबाट ३५ अंक छ । टोटनह्याम भने २० अंकका साथ तालिकाको ११ औं स्थानमा रहेको छ । 

यस्तै, लिगको अर्को खेलमा फुलहमलाई आर्सनलले बराबरीमा रोकेको छ । क्रेभेन कटेजमा भएको खेलमा आर्सनलले घरेलु टोली फुलह्यामसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । यस्तै लेस्टर सिटी र ब्राइटनले पनि २–२ को बराबरी खेले । बर्नमाउथले भने इपस्विच टाउनलाई २–१ ले हरायो ।  


प्रतिक्रिया