एसीसी महिला यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

मंसिर २५, २०८१ | काठमाडौं

नेपाल क्रिकेट संघ क्यानले एसीसी महिला यू–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा भएको छ । क्यानले एक सूचना प्रकाशित गरी पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको जानकारी दिएको हो । 

महतोको कप्तानीमा रहेको टिममा उपकप्तान सोनी पाख्रिन, सना प्रविन, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, अलिसाकुमारी यादव र सावित्री धामी रहेकी छन् । त्यसैगरी, कृष्मा गुरुङ, तिर्सना विक, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायत पनि टिममा छन् । 

एसीसी महिला यू–१९ एसिया कप आगामी मंसिर ३० देखि पुस ७ गतेसम्म मलेसियामा हुनेछ । नेपाल गत कात्तिकमा संयुक्त अरब ईमिरेट्स यूएईमा भएको विश्वकप छनोटको विजेता बनेर विश्वकपमा पुगेको थियो । 

नेपालले यूएईलाई निर्णायक खेलमा ८ विकेटले पराजित गरी आगामी जनवरी–फेब्रुअरीमा मलेसियामा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट भएको थियो । नेपाली महिला टिम इतिहासमा नै क्रिकेटको कुनै पनि फर्म्याटको विश्वकपमा पुगेको यो पहिलो पटक थियो । 

सोही प्रतियोगिताबाट नेपालले एसीसी यू–१९ एसिया कपको यात्रा पनि तय गरेको हो । एसियाली क्रिकेट परिषद् (एसीसी) ले नेपाललाई विजेता तथा मलेसियालाई यू–१९ विश्वकप आयोजकको हिसाबमा स्थान दिइएको हो । 

समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान तथा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र मलेसिया छन् । नेपालले आगामी पुस १ मा पाकिस्तानसँग र डिसेम्बर १७ मा भारतसँग खेल्ने तालिका छ । 


प्रतिक्रिया