एनपीएलमा लुम्बिनी लायन्सको पहिलो जित
मंसिर २५, २०८१ | काठमाडौं
लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल)मा पहिलो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको आफ्नो पाँचौ खेलमा कप्तान रोहित पौडेलको सानदार इनिङ्समा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको हो ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितको नेतृत्वमा रहेको लुम्बिनी पहिलो चार खेलमै पराजित भएको थियो । लुम्बिनीले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १३४ रनमा समेटियो । पाँचौं खेलमा चितवनको यो दोस्रो हार हो ।
चितवनको ब्याटिङ सुरुवातदेखि नै कमजोर रह्यो । उसका लागि लुक बेनकेन्सटिनले सर्वाधिक ३१ रन बनाए भने कप्तान कुशल मल्ल २० रन बनाएर आउट भए । रवि बोपाराले १२, सन्तोष कार्कीले १० तथा रिजन ढकाल १५ र नर सार्की २२ रनमा नटआउट भए ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक चार विकेट लिए । रोहितले चार ओभरमा १७ रन खर्चे चार विकेट हात पारेका हुन् । रामोन सिमान्ड्सले ४ ओभरमा २२ रन खर्चेर २ तथा साद बिन जाफर र अभिशेष गौतमले १–१ विकेट लिए ।
त्यसअघि चितवनले टस जितेर फिल्डिङ रोजेपछि पहिलो ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६७ रन बनाएको थियो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सानदार इनिङ्स खेल्दै सर्वाधिक ८० रनको योगदान दिए । उनले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । उनले क्यानडाका पूर्व कप्तान साद बिन जाफरसँग पाँचौं विकेटका लागि ७० बलमा १ सय १४ रनको साझेदारी गरेका थिए ।
रोहित २०औं ओभरको तेस्रो बलमा आउट भएका थिए । इनिङ्सको अन्तिम ओभरमा रनआउट भएका जाफरले ३५ बलमा ४ चौका र १ छक्कासहित ५२ रन बनाए । चितवनका रिजन ढकालले तीन विकेट लिए ।
कप्तान कुशल मल्ल र रन्जीत कुमारको नाममा एक–एक विकेट रह्यो । चितवन ३ खेल जितेर ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । जनकपुर बोल्ट्स सबै चार खेल जितेर शीर्ष स्थानमा छ भने सुदूरपश्चिम ४ खेलमा ३ मा जित हात पार्दै दोस्रो स्थानमा छ ।