ब्राइटनसँग म्यानचेस्टर युनाइटेड पराजित

माघ ७, २०८१ | काठमाडौं

ब्राइटनले इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । ओल्ड ट्राफोर्ड स्टेडियममा भएको पछिल्लो खेलमा ब्राइटनले घरेलु टोली म्यान युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । 

ब्राइटनले खेलको ५ औं मिनेटमा यान्कुबा मिन्तेहको गोलबाट अग्रता लिएको थियो । त्यसपछि ब्रुनो फर्नान्डेजले २३ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए । 

 काउरो मितोमाले खेलको ६० औं मिनेटमा गोल गर्दै ब्राइटनलाई २–१ को अग्रता दिलाए । खेलको ७६ औं मिनेटमा जर्जिनियो रुटरले अर्को गोल थप्दै ब्राइटनको जित सुनिश्चित गरे । 

यो नतिजासँगै ब्राइटन २२ खेलबाट ३४ अंकसहित तालिकाको नवौं स्थानमा रहेको छ । समान २२ खेल खेलेको म्यान युनाइटेड भने २६ अंकका साथ १३ औं स्थानमा रह्यो ।

यसैबीच, लिगको अर्को खेलमा म्यानचेस्टर सिटी इपस्विच टाउनलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्‍यो । पोर्टम्यान रोड स्टेडियममा भएको खेलमा सिटीले घरेलु टोली इपस्विचलाई हराएको हो । 

रेलिगेसनको दबाबबाट गुज्रिरहेको इपस्विचविरुद्ध सिटीका लागि फिल फोडेनले दुई गोल गरे । इर्लिङ हालान्डको नाममा पनि एक गोल रह्यो । माटेओ कोभासिक, जेरेमी डोकु र वैकल्पिक खेलाडी जेम्स म्याकटीले एक एक गोल गरे । 

यो जितपछि सिटी २२ खेलबाट ३८ अंकका साथ लिग तालिकाको चौंथो स्थानमा उक्लेको छ । यो शीर्ष स्थानमा रहेको लिभरपुलसँग १२ अंकको दूरी हो । 

अन्य खेलमा नटिङ्घम फरेस्टले साउथह्याम्पटन विरुद्ध ३–२ को जित निकाल्यो । लिग तालिकाको तेस्रो स्थानमा रहेको नटिङ्घम फरेस्टको ४४ अंक भएको छ । यस्तै, एभरटनले टोटनहमलाई ३–२ गोलले पराजित गर्‍यो ।


प्रतिक्रिया