एनआरटीलाई हराउँदै बाग्मती सभापति कप फुटबलको फाइनलमा
माघ १६, २०८१ | काठमाडौं
न्यूरोड टिम एनआरटीलाई टाइब्रेकरमा पराजित गर्दै आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बाग्मती प्रदेश सभापति कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा नेपाल लोकतान्त्रिक खेलकुद संघले एनआरटीलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गरेको हो । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगेपछि प्रतिस्पर्धा टाइब्रेकरमा प्रवेश गरेको हो ।
बाग्मतीका लागि नवीन लामा, फोडे फोफाना, राजन तिवारी र कुलदीप कार्कीले गोल गरे । एनआरटीका अभिषेक लिम्बू र कृतिशरत्न छुन्जुले मात्र गोल गरे । उसका सरोज तामाङको प्रहार बाग्मतीका गोल रक्षक विकेश कुथुले रोकेका थिए । सुमित श्रेष्ठको प्रहार भने बाहिरिएको थियो ।
बाग्मतीले पहिलो हाफमै दुई गोलको अग्रता लिएको थियो । बाग्मतीका सन्दीप कार्कीले ११ औं मिनेटमा पहिलो गोल गरेका थिए । लगत्तै १४ औं मिनेटमा विदेशी खेलाडी सेनेगाकाइज एलेक्सले दोस्रो गोल थपे ।
दोस्रो हाफमा एनआरटीका कृतिश रत्न छुन्जुले दुई गोल गर्दै खेल बराबरीमा ल्याए । कृतिश रत्नले खेलको ४६ औं र ६९ औं मिनेटमा गोल गरेका थिए । अब भोलि हुने फाइनलमा बाग्मतीले संकटाको सामना गर्नेछ ।
प्रतियोगितामा आठ टोलीको सहभागीता रहेको छ । सभापति कप फुटबल प्रतियोगिताको उपाधि विजेताले २६ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेताले १३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।