रोहित र पूरनको अर्धशतकमा एपीएफ विजयी

चैत्र १२, २०८१ | तिलोत्तमा
कप्तान रोहित शर्मा र पूरन विकको अर्ध शतक मद्दतमा विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ ।
रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा सोमबार भएको खेलमा एपीएफले लुम्बिनीलाई ७ विकेटले हराउँदै उपाधितर्फ अग्रसर देखिएको हो । उपाधि दाबेदार एपीएफको यो लगातार छैटौं जित हो ।
लुम्बिनीले दिएको २२४ रनको विजयी लक्ष्य एपीएफले ४१ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । एपीएफलको जितमा कप्तान रोहितकुमार पौडेल र पूरन विक नायक बने । पूरनले सर्वाधिक ७२ रनको योगदान गरे । उनले ११२ बलको सामना गर्दै ६ चौका र एक छक्का प्रहार गरे । उनी प्लेयर अफ दी म्याच घोषित भए ।
कप्तान पौडेलले ९४ बलमा ७ चौका प्रहार गर्दै ७१ रन बनाए । ओपनर लोकेश बक र सन्दीप जोराले समान २१/२१ रन बनाउँदा आशिफ शेखले १८ रन जोडे । बलिङमा लुम्बिनीका राजेन्द्र बमले तीन विकेट लिए ।
त्यसअघि एक्स्ट्राटेक ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २२३ रन बनाएको थियो । लुम्बिनीका लागि दुई जना खेलाडीले अर्धशतकीय इनिङ खेले ।
कप्तान देव खनालले सर्वाधिक ६३ रन बनाए । उनले ७९ बलमा चार चौका प्रहार गरे । मृनल गुरुङले ८७ बलमा चार चौकाको मद्दतमा ५५ रनको योगदान गरे । यस्तै, आकाश त्रिपाठीले २२, प्रज्वल थापाले २० र निर्मल गुरुङले अविजित १२ रन बनाए ।
बलिङमा एपीएफका लागि अमर राउटेला र अभिषेक गौतमले समान ३/३ विकेट लिए । मौसम ढकालले १० ओभर बलिङ गर्दै ४५ रन खर्चिएर दुई विकेट हात पारे । यो नतिजासँगै एपीएफ ८ खेलबाट १२ अंक जोडेर तालिकाको तेस्रो स्थानमा यथावत रहेको छ । पराजित लुम्बिनी भने तालिकाको छैटौं स्थानमा झरेको छ ।
लुम्बिनीले खेलेका ९ मध्ये चारमा जित र पाँचमा हार व्यहोरेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा मधेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।