टोटनह्यामविरुद्ध नटिङ्घम फरेस्टको प्रभावशाली जित

वैशाख ९, २०८२ | काठमाडौं
नटिङ्घम फरेस्टले इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामलाई पराजित गरेको छ । गएराति भएको खेलमा नटिङ्घम फरेस्टले घरेलु टोली टोटनह्यामलाई उसैको मैदानमा २–१ गोलले हराएको हो ।
टोटनह्याम विरुद्धको प्रभावशाली जितपछि फरेस्टले च्याम्पियन्स लिगको आशा बढाएको छ । फरेस्टले न्यूक्यासल, म्यानचेस्टर सिटी र चेल्सीलाई पछि पार्दै च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावनालाई बलियो बनाएको हो ।
खेलको छैटौं मिनेटमा एलियट एन्डरसनको गोलबाट फरेस्टले अग्रता लिएको थियो । क्रिस वुडले खेलको १६ औं मिनेटमा अर्को गोल गर्दै फरेस्को अग्रता दोब्बर पारे । टोटनह्यामले खेलको अन्तिम मिनेटमा एक गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त भएन ।
घरेलु टोलीका लागि खेलको ८७ औं मिनेटमा रिचार्लिसनले गोल गरेका थिए । यो जितपछि फरेस्ट प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
फरेस्टको ३३ खेलबाट ६० अंक भएको छ । टोटनह्याम भने ३७ अंकका साथ तालिकाको १६ औं स्थानमा रह्यो । शीर्ष पाँचमा पर्नुले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्न पर्याप्त हुनेछ ।