म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई हरायो

वैशाख १०, २०८२ | काठमाडौं
माथियस नुनेसको गोलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लालाई पराजित गरेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा गएराति भएको खेलमा सिटीले पाहुना टोली एस्टन भिल्लालाई २–१ गोलले हराएको हो ।
यो जितले सिटीको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनालाई थप बलियो बनेको छ । नुनेसले अतिरिक्त समयको चौंथो मिनेटमा जेरिमी डोकुको पासमा निर्णायक गोल गरे ।
सिटीले खेलको सातौं मिनेटमा बर्नार्डो सिल्भाको गोलबाट अग्रता लिएको थियो । खेलको १८ औं मिनेटमा मार्कस रास्फोर्डले भिल्लाका लागि बराबरी गोल फर्काए ।
यो जितपछि सिटी ३४ खेलबाट ६१ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको नटिंघम फरेस्ट ६० अंकका साथ तालिकाको चौथो स्थानमा झरेको छ । पराजित एस्टन भिल्ला भने ३४ खेलबाट ५७ अंकका साथ तालिकाको सातौ स्थानमै यथावत छ ।