फाइनल प्रवेशका लागि एपीएफ र रौतहट भिड्दै

वैशाख १०, २०८२ | बाँके

बाँकेमा जारी लुम्बिनी कप आमन्त्रण महिला फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । फाइनल प्रवेशका लागि विभागीय टोली एपीएफ क्लबले रौतहट फुटबल संघको टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ । 

नेपालगञ्ज रंगशालामा दिउँसो तीन बजे एपीएफ र रौतहट फुटबल संघको टोली आमनेसामने हुनेछन् । दुबै टोली फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रनेछन् । आजको खेलको विजेताले उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा पुगेको छ । आर्मीलाई टाइब्रेकरमा ६–५ गोलले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो । 

निर्धारित समयमा एक–एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको हो । लुम्बिनी कप आमन्त्रण महिला फुटबल प्रतियोगिताको विजेताले ५ लाख ५५ हजार रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा तीन विभागीय सहित आठ टिमको सहभागिता रहेको छ ।


प्रतिक्रिया