प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि आर्मी र पुलिस भिड्ने

चैत्र १६, २०८१ | तिलोत्तमा
प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त शनिबार हुने भएको छ । उपाधिका लागि विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्ने भएको छ ।
रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा साविक विजेता पुलिस र आर्मीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । गत वर्ष फाइनलमा आर्मीलाई पराजित गर्दै पुलिसले उपाधि जितेको थियो ।
आर्मी यसपटक त्यो बदला लिन चाहन्छ । तर, लयमा रहेको पुलिस आर्मीमाथि लगातार जित निकाल्ने दाउमा छ । फाइनलको पूर्वसन्ध्यामा शुक्रबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा आर्मी र पुलिस दुबै टोलीले उपाधि जित्ने दाबी गरेका छन् ।
पुलिसका कप्तान दीपेन्द्र सिंह ऐरीले प्रतिस्पर्धाका लागि तयार रहेको बताए । ऐरीले क्रिकेट विकेन्द्रिकृत भएर विकास भएकोमा खुशी व्यक्त गरे । ‘जय ट्रफी भयो, पीएम कप यसपटक लुम्बिनी प्रदेशमा भयो’, उनले भने, ‘यस्ता धेरै खेलहरु बाहिर भएका छन् । क्रिकेटको विकास र विकेन्द्रिकृत भइरहेको छ ।’
यता आर्मीका कप्तान विनोद भण्डारीले प्रधानमन्त्री कपले नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने जनाए । ‘नियमित खेलाडीले भन्दा यसपटक नयाँ खेलाडीले राम्रो रन हानेका छन्’, उनले भने, ‘यो घरेलु प्रतियोगिताले खेलाडीलाई प्लेटफर्म दिएको छ । खेलाडी उत्पादनमा टेवा पुर्याएको छ ।’
भण्डारीले नियमित काठमाडौंमा खेल्दा र बाहिरका मैदानमा खेल्दा केही फरक परे पनि आर्मी प्रतिस्पर्धाका लागि तयारी रहेको बताए । पुलिस क्लबलाई पराजित गर्दै अर्को विभागीय आर्मी फाइनलमा प्रवेश गरेको हो ।
बिहीबार भएको लिग चरणको अन्तिम खेलमा आर्मीले पुलिसलाई ४ विकेटले पराजित गर्दै उपाधि यात्रा तय गरेको हो । पुलिस लिग तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । २०१७ देखि सुरु प्रधानमन्त्री कपमा अहिलेसम्म नेपाल पुलिस क्लबले दुई पटक उपाधि जितेको छ । आर्मीले एक पटक मात्रै उपाधि हात पारेको छ ।
फागुन २५ देखि सुरु प्रधानमन्त्री कप क्रिकेटका सबै खेल पहिलोपटक काठमाडौं उपत्यका बाहिर लुम्बिनी प्रदेशका भएका हुन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान, तिलोत्तमा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान खेल भएका थिए । कुल ४६ खेलमध्ये ४५ खेल सम्पन्न भएर अन्तिम खेल शनिबार हुँदैछ ।