तिलोत्तमा गोल्डकप फुटबलको उपाधि चर्च ब्वाइजलाई

चैत्र १७, २०८१ | तिलोत्तमा

काठमाडौंको चर्च व्वाइज युनाइटेडले रुपन्देहीमा सम्पन्न तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करणको उपाधि जितेको छ । बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार भएको फाइनलमा विभागीय टोली एपीएफ क्लबलाई २–० गोल अन्तरले हराउँदै चर्च ब्वाइज च्याम्पियन बनेको हो । 

खेलको २० औं मिनेटमै चर्च ब्वाइजले विदेशी खेलाडी रिचर्ड विल्सनको गोल मार्फत अग्रता लिएका थिए । राज भुसालले प्रहार गरेको कर्नरलाई विल्सनले हेडिङ मार्फत गोलको दिशा दिएका थिए । खेलमा चर्च ब्वाइज हाबी भएको थियो । दोस्रो हाफमा पनि चर्च ब्वाइजले सशक्त प्रदर्शनलाई निरन्तरता दिंदैं अग्रता दोब्बर पारे । खेलको ६३ औं मिनेटमा राज भुषालले गरेको गोल चर्च ब्वाइजको जितमा निर्णायक बन्यो ।

चर्च व्याइजले उपाधिसहित नगद १२ लाख १२ हजार २ सय २२ रुपैयाँ हात पारेको छ । उपविजेता एपीएफले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरेको हो । फाइनलमा चर्च ब्वाइजका राज भुसाल प्लेयर अफ दि म्याच घोषित भए । उनले ११ हजार रुपैयाँ प्राप्त गरेका थिए । 

त्यस्तै विधागततर्फ उत्कृष्ट गोलकिपर चर्च व्वाइजका विशाल चौधरी, वेष्ट डिफेन्डर एपीएफका मान बहादुर राना, वेष्ट मिडफिल्डर एपीएफका सामुयल सुनार, वेष्ट स्टाइकर चर्च व्वाइजका रिचर्ड विलसन र वेष्ट कोच चर्च व्वाइजका आषिक थापा मगर भएका छन् । उत्कृष्ट हुने सबैले जनही ३१–३१ हजार रुपैयाँ र ट्रफी हात पारेका छन् ।

प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी चर्च व्याइजका अमन लामा भएका छन् । उनले एक थान स्कूटरसहित ट्रफी प्रात गरेका छन् । उत्कृष्ट खेलाडीहरु तथा विजेता तथा उपविजेता टिमलाई एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव तिरण गौतम, एन्फाका केन्द्रीय उपाध्यक्ष दीर्घ बहादुर केसी, यशोदा फुड्स प्रालिका डाईरेक्टर नितेश मालपानी, रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुन लगायतले पुरस्कार वितरण गरेका थिए ।

चैत ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक करेन्ट रुपन्देही–११, संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, भारत र जर्जियन एफसी भारतको सहभागीता रहेको थियो ।


प्रतिक्रिया