धाविका सन्तोषी श्रेष्ठले लन्डन म्याराथनमा भाग लिने

वैशाख ४, २०८२ | काठमाडौं

धाविका सन्तोषी श्रेष्ठले बेलायतमा आयोजना हुने लन्डन म्याराथनमा भाग लिने भएकी छन् ।

 लन्डन म्याराथनमा सहभागी हुन श्रेष्ठ आज त्यसतर्फ प्रस्थान गर्दैछिन् । यही बैशाख १४ गते हुने लन्डन म्याराथनमा सन्तोषीको सहभागितालाई नेपाल रन यूकेले व्यवस्थापन गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिए । 

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सन्तोषीलाई बिदाइ गर्दै देशको शान बढाउने गरी उच्च प्रदर्शन गर्न शुभकामना दिए । पेरिस ओलम्पिक खेलेकी सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता धाविका हुन् । उनले सागमा १० हजार मिटर दौडबाट स्वर्ण जितेकी थिइन् । 

गत वर्षबाट म्याराथन दौडन थालेकी सन्तोषीले ढाका बंगबन्धु म्याराथनमा स्वर्ण जितेर आफ्नो अन्तर्राष्ट्रिय सहभागितालाई स्मरणीय बनाएकी थिइन् । ढाका बंगबन्धु म्याराथन उनको पहिलो अन्तर्राष्ट्रिय म्याराथन सहभागिता थियो ।


प्रतिक्रिया