१० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिता आजदेखि

वैशाख ६, २०८२ | तिलोत्तमा

रुपन्देहीमा १० औं मणिमुकुन्द कप पुरुष भलिबल इन्डो नेपाल क्लब च्याम्पियनशिप आजदेखि सुरु हुँदैछ । मणिमुकुन्द क्लबको आयोजनामा बैशाख १३ गतेसम्म सञ्चालन प्रतियोगितामा ३ विभागीय र एक भारतीय सहित ९ वटा क्लबको सहभागिता रहनेछ । 

उद्घाटन खेलमा आयोजक मणिमुकुन्द भलिबल क्लब र पाहुना टोली भारतको साग भलिबल एकेडेमी प्रतिस्पर्धा हुनेछ । मणिमुकुन्द खेल मैदानमा प्रतियोगिता साँझ ६ बजेदेखि सुरु हुनेछ । 

प्रतियोगितामा त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, गण्डकी भलिबल संघ, कोशी प्रदेश भलिबल संघ, गलकोट भलिबल क्लब बाग्लुङ्ग, मणिमुकुन्द भलिबल क्लब, सुदूरपश्चिम खेलकुल परिषद र भारत गुजरातको साग भलिबल एकडेमी गरी कुल ९ वटा टिमको सहभागी छन् । 

प्रतियोगिताको विजेताले ३ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, उपविजेताले २ लाख, ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । 

तेस्रो स्थान हासिल गर्ने टिमलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । खेलमा सान्त्वना स्थान हासिल गर्ने टिमले ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरिनेछ भने अन्य ८ विधामा समेत नगद पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले बताए । बेष्ट प्लेयरलाई १५ हजार रुपैयाँ सहित र कप र प्रमाणपत्र प्रदान गरिने छ । 

यस्तै, बेष्ट सटरलाई १० हजार रुपैयाँ र बेष्ट ब्लकरलाई पनि १० हजार हजार प्रदान गरिने आयोजकले जनाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीको खेल कौशल प्रदर्शन गर्ने र नेपालको राष्ट्रिय खेल भलिबलको विकास गर्ने उद्देश्यले हरेक वर्ष खेल गर्ने गरिएको अध्यक्ष भण्डारीको भनाई छ । 

खेल सम्पन्न गर्नका लागि ६८ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । प्रतियोगिता अन्तर्गत गत वर्ष सम्पन्न ९ औं संस्करणको २ लाख राशी पुरस्कारको राष्ट्रिय भलिबलको उपाधि नेपाल आर्मी क्लबले जितेको थियो । प्रतियोगिता बैशाख १३ गतेसम्म सञ्चालन हुनेछ ।


प्रतिक्रिया