वेस्टइन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित

आश्विन १२, २०८२ | काठमाडौं

नेपालले वेस्टइन्डिजमाथि टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक जित हात पारेको छ । उत्कृष्ट बलिङ र फिल्डिङपछि नेपालले हिजो पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा दुईपटकको विश्व विजेता वेस्टइन्डिजलाई १९ रनले पराजित गरेको हो ।

यूएईको शारजहाँस्थित क्रिकेट रंगशालामा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाई १ सय ४८ रन बनाएको थियो ।

जवाफमा वेस्टइन्डिजले ९ विकेट गुमाई १ सय २९ रनमात्र बनाउन सक्यो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पूर्ण मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको टी–ट्वान्टी अन्तर्राष्ट्रियमा पहिलो जित हो ।

नेपालले यसअघि टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्धको टी–ट्वान्टी आईमा लगातार ९ हार बेहोरेको थियो । नेपाललाई यस जितले लगत्तै वेस्टइन्डिजमा सुरु हुने टी–ट्वान्टी विश्वकप एसिया छनोटमा ठूलो हौसला दिनेछ ।

कुशल भूर्तेलले ओपनर केयल मायर्सलाई दोस्रो ओभरमा ५ रनमा सिधा स्टम्पमा हानेर रन आउट गरी नेपाललाई पहिलो सफलता दिलाएका थिए । जाङ्गो २२ बल खेली २ चौकासहित १९ रन बनाएर आउट भए ।

अगस्टीलाई नन्दन यादवले १५ रनमा आउट गरे । ७ बल खेलेका अगस्टीले २ छक्का प्रहार गरेका थिए ।


प्रतिक्रिया