टी–२० विश्वकप छनोटमा नेपाल र कुबेत खेल्दै

आश्विन २२, २०८२ | काठमाडौं
आईसीसी टी–२० विश्वकप क्रिकेट एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट आजबाट ओमानमा सुरु हुँदैछ ।
समुह बी मा रहेको नेपालले आफ्नो पहिलो खेलमा आज कुबेतसंग प्रतिस्पर्धा गर्नेछ । मस्कटस्थित अल अमेरत क्रिकेट ग्राउन्डमा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । रोहित पौडेलको कप्तानी र स्टुअर्ट ल को प्रशिक्षणमा रहेको नेपाल छनोट दावेदार टिम हो । टेस्ट राष्ट्र वेस्ट इन्डिजसंग तीन खेलको टी–ट्वान्टी आई सिरिज दुई एकले जित्दै नेपाल ओमान पुगेको छ । युएइको शारजाहमा आइसीसीको पुर्ण सदस्य राष्ट्रविरुद्धको सिरिज अघि नेपालले अस्ट्रेलियाको पनि भ्रमण गरेको थियो ।
वार्म अप म्याचमा पनि कतार र ओमानलाई हराएको नेपालको मनोबल उच्च छ । तेस्रो पटक विश्ककप खेल्ने सपना पुरा गर्ने लक्ष्य सहित ओमान पुगेको नेपालको तयारी राम्रो छ । दुवै टिमका लागि छनोटको पहिलो खेल महत्वपुर्ण रहने छ । पछिल्ला तीन टी–ट्वान्टी आईमा नेपालले दुई र कुवेतले एक खेल जितेका छन् । गत अप्रिलमा हङकङमा भएको चार देश सम्मिलित सिरिजको फाइनलमा नेपाल कुबेतसंग तीन रनले पराजित भएको थियो ।